गभर्नर डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित ५०० रुपैयाँको नयाँ नोट जारी

बुधबार, ३ असार २०८३ ०७:०९ बिहान
Font Size: 20px

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरको नयाँ बैंकनोट प्रचलनमा ल्याउने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै साविककै आकार तथा रङमा केही नयाँ विशेषता थपिएको ५०० रुपैयाँको बैंकनोट २०८३ असार ३ गतेदेखि चलनचल्तीमा ल्याइने जनाएको हो।

राष्ट्र बैंकका अनुसार नयाँ नोटको अगाडिको भागमा “श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसका रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ पाँच सय तुरुन्त पाइने छ” भन्ने प्रतिज्ञात्मक वाक्यांश राखिएको छ।

नोटको बायाँ भागमा सगरमाथाको चित्र तथा दायाँ भागमा लालीगुराँसको पानीछाप रहनेछ। साथै दृष्टिविहीन व्यक्तिहरूलाई नोट पहिचान गर्न सहज हुने गरी फरक स्पर्श क्षमता भएका कालो थोप्लाहरू राखिएका छन्। नोटमा ३.५ मिलिमिटर चौडाइको सुरक्षा धागो पनि समावेश गरिएको छ, जुन सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने व्यवस्था गरिएको छ।

नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल को हस्ताक्षर रहनेछ। नोटको पछाडिको भागमा पाटेबाघको चित्र राखिएको छ भने माथि “NEPAL RASTRA BANK” र तल “RUPEES FIVE HUNDRED” लेखिएको छ।


प्रतिक्रिया 0