नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन (अवकाश) कोषमा रहेको कुल रु. ७ अर्ब ३० करोड रकम मुद्दती निक्षेपमा लगानी गर्न बैंक तथा वित्तीय संस्थासँग ब्याजदर प्रस्ताव आह्वान गरेको छ।
बैंकका अनुसार उक्त रकम ३६६ दिनका लागि ‘क’ वर्गका वाणिज्य बैंकमा रु. ५ अर्ब ८४ करोड, ‘ख’ वर्गका विकास बैंकमा रु. १ अर्ब ९ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा रु. ३६ करोड ५० लाखसम्म लगानी गरिनेछ। प्रस्ताव पेश गर्ने संस्थाहरूले कम्तीमा दुई वर्ष सञ्चालन पूरा गरेको, न्यूनतम पूँजीकोष कायम गरेको, निष्कृय कर्जा (NPL) ८ प्रतिशतभित्र तथा खुद निष्कृय कर्जा ३ प्रतिशतभित्र राखेको, नाफामा रहेको लगायतका मापदण्ड पूरा गरेको हुनुपर्नेछ। इच्छुक संस्थाले तोकिएको फारम भरी २०८३ वैशाख २३ गते बेलुका ७ बजेसम्म प्रस्ताव पठाउनुपर्नेछ ।
प्राप्त प्रस्तावमध्ये सबैभन्दा उच्च ब्याजदर प्रस्ताव गर्ने संस्थामा लगानी गरिनेछ र त्रैमासिक रूपमा ब्याज भुक्तानी गर्नुपर्नेछ। तोकिएको समयसीमा नाघेका वा मापदण्ड नपुगेका प्रस्तावहरूलाई भने मान्यता नदिइने नेपाल राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया 0