नेपाल राष्ट्र बैंकद्वारा ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

शुक्रबार, २ आश्विन २०८३, बिहान १०:३३


काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याउने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै नयाँ बैंकनोट २०८३ साल असोज २ गतेदेखि चलनचल्तीमा ल्याइने जनाएको हो।

राष्ट्र बैंकका अनुसार नयाँ नोट ५० रुपैयाँ दरको साविककै आकार तथा रंगमा हुनेछ। नोटको सिरिज नम्बर ट २४ ०००००१ देखि ण ७० ९९९९९९ सम्म रहनेछ। नोटमा नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारको जमानत प्राप्त रुपैयाँ भुक्तानीसम्बन्धी प्रतिज्ञात्मक वाक्यसमेत उल्लेख गरिएको छ।

नोटको अगाडिको भागमा हिमालको चित्र राखिएको छ भने त्यसको माथि ‘NEPAL RASTRA BANK’ लेखिएको छ। नोटको पछाडिको भागमा हात्तीको चित्र राखिएको छ। पछाडिको तल्लो भागमा ‘RUPEES FIFTY’ र सिरिज नम्बर ‘2025 A.D.’ उल्लेख गरिएको राष्ट्र बैंकले जनाएको छ।

नयाँ नोटमा विभिन्न सुरक्षा विशेषता समेत राखिएका छन्। अगाडिको भागको बायाँतर्फ लालीगुराँसको पानीछाप तथा सोको मुनि ‘50’ अंकित पानीछाप रहेको छ। त्यस्तै, नोटमा १.२ मिलिमिटर चौडा सुरक्षा धागो राखिएको छ, जसलाई प्रकाशतर्फ हेर्दा पूर्ण रूपमा देखिन सकिने राष्ट्र बैंकले जनाएको छ। उक्त सुरक्षा धागोमा ‘NRB’ लेखिएको छ।

राष्ट्र बैंकका अनुसार नोटको अगाडिको भागमा गभर्नर डा. विश्वनाथ पौडेलको दस्तखत रहनेछ। नयाँ नोटमा उल्लेखित विशेषताहरूले नोटको पहिचान तथा सुरक्षालाई थप स्पष्ट बनाउने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकले यसअघि २०७७ साल असार २२ गतेदेखि ५० रुपैयाँ दरको सिरिज २०१९ को बैंकनोट चलनचल्तीमा ल्याउने सूचना प्रकाशित गरेको थियो। नयाँ सूचनामा भने नयाँ सिरिजको बैंकनोट २०८३ असोज २ गतेदेखि चलनचल्तीमा ल्याइने जानकारी दिइएको छ।


प्रतिक्रिया 0