राष्ट्र बैंक सञ्चालक समितिको विद्यमान व्यवस्था पर्याप्त छ : गभर्नर

शनिबार, २ श्रावण २०८३, दिउँसो १:१९
Font Size: 20px

काठमाडौं  नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक सञ्चालक समितिको सदस्य संख्या तथा योग्यतासम्बन्धी विद्यमान व्यवस्था पर्याप्त रहेको बताएका छन्। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनले हालको व्यवस्थालाई नै कायम राख्नु उपयुक्त हुने धारणा व्यक्त गरेका हुन्।

गभर्नर पौडेलले अर्थ मन्त्रालयका तर्फबाट हालसम्म राष्ट्र बैंकको कार्यसम्पादनमा कुनै हस्तक्षेप नभएको उल्लेख गर्दै अर्थसचिवको सञ्चालक समितिमा उपस्थितिले समन्वय र निर्णय प्रक्रियालाई अझ प्रभावकारी बनाएको बताए।

उनले गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकहरूको नियुक्तिमा अतिरिक्त १० वर्षको अनुभव जस्ता थप योग्यता अनिवार्य बनाउने प्रस्ताव व्यावहारिक नहुने तर्क गरे। साथै, राष्ट्र बैंकबाट अवकाशपछि लागू गरिने कुलिङ पिरियड व्यवस्था पनि आवश्यक नरहेको उनको धारणा थियो।

अर्थ समितिमा छलफल भइरहेको संशोधन विधेयकले नेपाल राष्ट्र बैंक ऐनलाई समयानुकूल, स्वायत्त, उत्तरदायी तथा प्रविधिमैत्री बनाउने उद्देश्य राखेको सरकारले जनाएको छ। विधेयकमा गभर्नर तथा सञ्चालक नियुक्ति, पदमुक्ति, सञ्चालक समितिको भूमिका र संस्थागत सुशासनसम्बन्धी विभिन्न व्यवस्थामा सुधार प्रस्ताव गरिएको छ। 


यो पनि पढ्नुहोस 

राष्ट्र बैंक ऐन संशोधन विधेयक : गभर्नरलाई प्रमुख कार्यकारीको जिम्मेवारी प्रस्ताव

नेपाल राष्ट्र बैंकको वित्तीय क्षमता बलियो बनाउन चार कोष स्थापना गर्ने प्रस्ताव


प्रतिक्रिया 0