तरलता ब्यवस्थापन गर्न फेरि ६० अर्ब खिच्दै राष्ट्र बैंक

बुधबार, २७ जेठ २०८३ ११:११ बिहान
Font Size: 20px

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।

राष्ट्र बैंकको वित्तीय व्यवस्थापन विभागले बुधबार सूचना जारी गर्दै असार २९ गते निक्षेप संकलन उपकरणमार्फत ६० अर्ब रुपैयाँ तान्न बोलकबोल आह्वान गरेको हो।

सूचनाअनुसार बोलकबोल असार २९ गते दिउँसो ३ बजेदेखि ३:३० बजेसम्म अनलाइन बिडिङ सिस्टम (OBSS) मार्फत सञ्चालन हुनेछ। निक्षेप संकलन उपकरणको अवधि २३ दिन रहनेछ र यसको साँवा तथा ब्याज भुक्तानी साउन १९ गते गरिनेछ।

बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन सक्नेछन्। न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि ५ करोड रुपैयाँले भाग जाने गरी आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता नियन्त्रण गरी मौद्रिक व्यवस्थापन प्रभावकारी बनाउन निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) उच्च रहेकाले केन्द्रीय बैंकले नियमित रूपमा तरलता सोस्ने कार्य गरिरहेको छ।

प्रतिक्रिया 0