अर्बौं डलर सञ्चिति, प्रतिफल भने न्यून

Monday, 01 June 2026, 06:12 AM
6 पटक हेरियो
Font Size: 20px

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नेपालको विदेशी मुद्रा सञ्चिति सुरक्षित भए पनि त्यसबाट प्राप्त प्रतिफल अपेक्षाकृत न्यून रहेको बताएका छन्। अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हाल विदेशी मुद्रा सञ्चितिको ठूलो हिस्सा छोटो अवधिको तरल वित्तीय साधन (Short-term Liquidity Instruments) मा राखिएको जानकारी दिए ।

गभर्नर पौडेलका अनुसार उक्त सञ्चितिबाट हाल ४ प्रतिशतभन्दा कम प्रतिफल प्राप्त भइरहेको छ। उनले विदेशी मुद्रा सञ्चितिको सुरक्षा पहिलो प्राथमिकता भए पनि अब सुरक्षित सीमाभित्र रहेर दीर्घकालीन तथा तुलनात्मक रूपमा बढी प्रतिफल दिने लगानीका विकल्पहरूबारे सोच्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले नेपालसँग रहेको विदेशी मुद्रा सञ्चिति तत्काल खर्च गर्न मिल्ने नगद रकम नभई विभिन्न अन्तर्राष्ट्रिय वित्तीय साधनमा व्यवस्थापन गरिएको स्पष्ट पारे। सञ्चितिको प्रभावकारी व्यवस्थापनमार्फत देशले थप लाभ लिन सक्ने सम्भावनातर्फ पनि उनले संकेत गरे ।

गभर्नर पौडेलले बैंकिङ प्रणालीमा हाल पर्याप्तभन्दा बढी तरलता रहेको उल्लेख गर्दै उक्त रकम उत्पादनशील क्षेत्र, उद्योग, व्यवसाय तथा आर्थिक गतिविधि विस्तारमा प्रवाह हुनुपर्ने धारणा राखे। बैंकहरूमा थुप्रिएको तरलतालाई अर्थतन्त्रको वास्तविक क्षेत्रमा परिचालन गर्न सके आर्थिक वृद्धिमा सकारात्मक योगदान पुग्ने उनको भनाइ थियो ।

यसैबीच उनले आगामी मौद्रिक नीति वर्तमान आर्थिक अवस्था, वित्तीय क्षेत्रका चुनौती तथा निजी क्षेत्रको आवश्यकतालाई सम्बोधन गर्ने गरी थप व्यावहारिक र सुधारमुखी हुने संकेत पनि दिएका छन्। बजारमा देखिएका समस्या समाधान, कर्जा प्रवाह विस्तार तथा आर्थिक गतिविधि चलायमान बनाउने विषयमा राष्ट्र बैंक गम्भीर रहेको उनले बताए ।

नेपाल राष्ट्र बैंकका पछिल्ला प्रतिवेदनअनुसार हाल नेपालको विदेशी मुद्रा सञ्चिति २३ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको छ। यो सञ्चितिले करिब १८ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था रहेको छ, जुन अन्तर्राष्ट्रिय मापदण्डका हिसाबले पनि सन्तोषजनक मानिन्छ ।

17 घण्टा अगाडि
6 पटक हेरियो

प्रतिक्रिया 0