मौद्रिक नीतिमा 'कोर म्यान्डेट' मै फर्किदै राष्ट्र बैंक

आइतबार, २१ असार २०८३, बेलुका ४:४०
Font Size: 20px

काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति आफ्नो मूल जिम्मेवारीभित्र सीमित राख्ने संकेत दिएको छ। चालु आर्थिक वर्षको मौद्रिक अवस्थाको समीक्षा सम्पन्न गरेसँगै राष्ट्र बैंकले आगामी नीतिमा कर, राजस्व वा अन्य वित्तीय नीतिका विषयभन्दा आफ्नै अधिकारक्षेत्रभित्र पर्ने मौद्रिक औजारमार्फत अर्थतन्त्र व्यवस्थापनमा जोड दिने तयारी गरेको हो।

राष्ट्र बैंक सञ्चालक समितिले आइतबार चालु आर्थिक वर्षको मौद्रिक अवस्था, बैंकिङ प्रणालीको तरलता, कर्जा विस्तार, ब्याजदर, निक्षेप वृद्धि र समग्र वित्तीय स्थायित्वबारे समीक्षा गरेको स्रोतले जनाएको छ। सो समीक्षाका आधारमा आगामी मौद्रिक नीतिको अन्तिम मस्यौदा तयार पारिएको छ।

स्रोतका अनुसार यसपटक नीतिमा रेपो/रिभर्स रेपो, स्थायी निक्षेप तथा तरलता सुविधा, नगद अनिवार्य मौज्दात (CRR), बैंक दर, खुला बजार कारोबार (OMO) लगायतका मौद्रिक औजारको प्रभावकारी प्रयोगमार्फत बजारमा आवश्यक तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र कर्जा प्रवाहलाई सन्तुलित बनाउने रणनीति अपनाइनेछ।

राष्ट्र बैंकले मौद्रिक नीतिलाई सरकारको बजेट कार्यान्वयनको पूरकका रूपमा राखे पनि, नीतिको मुख्य फोकस मूल्य स्थिरता, वित्तीय स्थायित्व र बैंकिङ प्रणालीको सुदृढीकरणमै रहने तयारी गरेको स्रोतको भनाइ छ।

गभर्नर विश्वनाथ पौडेल ले अहिलेको मुख्य चुनौती ब्याजदर नभई कर्जाको माग र प्रवाह बढाउनु रहेको बताएका थिए। न्यून मुद्रास्फीति तथा केही क्षेत्रमा देखिएको मूल्य गिरावटले आर्थिक गतिविधि सुस्ताएको संकेत दिएको भन्दै उनले कर्जा उत्पादनमूलक क्षेत्रमा कसरी प्रवाहित गर्ने भन्ने विषय आगामी नीतिको प्रमुख प्राथमिकता हुने संकेत दिएका छन्।

राष्ट्र बैंकका अधिकारीहरूका अनुसार विभागीय छलफल लगभग सकिएको छ भने सञ्चालक समितिले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा पनि सम्पन्न गरिसकेको छ। अब आगामी मौद्रिक नीतिको मस्यौदामाथि बोर्डमा छलफल गरी यही साता नीति सार्वजनिक गर्ने तयारी भइरहेको छ।


यो पनि पढ्नुहोस 

आगामी मौद्रिक नीतिमा रिटेल मार्जिन लेन्डिङको नयाँ मोडल

आगामी मौद्रिक नीतिमा के आउला? अर्थतन्त्र चलायमान बनाउन १० प्रमुख अपेक्षा

प्रतिक्रिया 0