राष्ट्र बैंकले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने

बुधबार, १७ असार २०८३, बेलुका ४:३५
Font Size: 20px

काठमाडौं। नेपाल राष्ट्र बैंकले वित्तीय सेवाप्रति ग्राहकको सन्तुष्टि, अनुभव र धारणा मापन गर्ने उद्देश्यले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३ (Financial Consumer Satisfaction Survey 2083)’ सुरु गरेको छ।

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार सर्वेक्षणका क्रममा ७७ वटै जिल्लाका स्थानीय तहहरूमा Random Sampling विधिबाट वडा छनोट गरी कुल १०,४०५ नमुना (Sample) संकलन गरिनेछ।

सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, सेवा गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवाप्रति ग्राहकहरूको धारणा र अनुभव संकलन गरिने राष्ट्र बैंकले जनाएको छ।

सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक संरक्षण सुदृढ बनाउन, वित्तीय सेवाको गुणस्तर अभिवृद्धि गर्न तथा नीति, कार्यक्रम र नियामकीय व्यवस्थामा आवश्यक सुधार गर्न महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकले सर्वेक्षणलाई प्रभावकारी, विश्वसनीय र निष्पक्ष बनाउन सम्बन्धित सबैसँग यथार्थ जानकारी उपलब्ध गराई तथ्याङ्क संकलनमा सहयोग गर्न आग्रह गरेको छ। सर्वेक्षणमा सहभागिता स्वेच्छिक हुने र सहभागीले आफूलाई असहज लागेका प्रश्नको उत्तर दिन अस्वीकार गर्न सक्ने व्यवस्था पनि गरिएको छ।

साथै, सर्वेक्षणबाट संकलित व्यक्तिगत विवरण तथा जानकारी तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य राखिने र केवल सामूहिक तथ्याङ्कीय प्रयोजनका लागि मात्र प्रयोग गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक, बैंक तथा वित्तीय संस्था, सम्बन्धित सरोकारवाला निकाय र सर्वसाधारणलाई सर्वेक्षण कार्यमा आवश्यक सहयोग तथा सहकार्य गर्न अनुरोध गरेको छ। थप जानकारीका लागि वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा मा सम्पर्क गर्न सकिने जनाइएको छ।

प्रतिक्रिया 0