काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत (CEO) तथा उच्च व्यवस्थापकीय तहका पदाधिकारीहरूको नियुक्ति प्रक्रियालाई थप पारदर्शी र उत्तरदायी बनाउन एकीकृत निर्देशन, २०८२ मा संशोधन तथा थप व्यवस्था गरेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको संशोधित व्यवस्थाअनुसार अब बैंक तथा वित्तीय संस्थाले सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा अन्य उच्च व्यवस्थापकीय तहमा नियुक्ति वा मनोनयन गर्दा सम्बन्धित व्यक्तिको विस्तृत व्यक्तिगत, व्यावसायिक तथा वित्तीय विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको छ।
नयाँ व्यवस्थाअनुसार सम्बन्धित व्यक्तिको शैक्षिक योग्यता, पेशागत अनुभव, पारिवारिक विवरण, वित्तीय कारोबारको अवस्था, विगतमा कुनै व्यवसाय सञ्चालन गरेको भए त्यसको विवरण, विदेशमा बसोबास वा स्वामित्व भएका कम्पनीहरूको जानकारी, प्राप्त सम्मान तथा पुरस्कार लगायतका विवरण राष्ट्र बैंकसमक्ष पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। तस्वीरमा देखिएअनुसार ‘वित्तीय आचरण (Financial Soundness)’ सम्बन्धी विवरणसमेत अनिवार्य गरिएको छ।
त्यसैगरी कुनै व्यक्ति वा संस्थाले बैंकमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा १ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व राखेको अवस्थामा वास्तविक लाभग्राही (Beneficial Owner) सम्बन्धी विवरण पनि खुलाउनुपर्ने व्यवस्था थप गरिएको छ। ५ प्रतिशत वा रु. ५० लाखभन्दा बढी शेयर स्वामित्व भएका लगानीकर्ताका हकमा समेत विस्तृत विवरण राष्ट्र बैंकमा पेश गर्नुपर्ने प्रावधान राखिएको छ।
राष्ट्र बैंकको यो कदमले बैंकिङ क्षेत्रको सुशासन, पारदर्शिता तथा जोखिम व्यवस्थापनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। विशेषगरी बैंकका उच्च पदाधिकारी तथा प्रभावशाली शेयरधनीहरूको पृष्ठभूमि, आर्थिक हैसियत र व्यावसायिक विश्वसनीयता परीक्षण (Fit and Proper Test) लाई प्रभावकारी बनाउने उद्देश्यले यो व्यवस्था ल्याइएको देखिन्छ।
प्रतिक्रिया 0