नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दीर्घबहादुर रावल नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको निर्णयअनुसार रावललाई पाँच वर्षका लागि डेपुटी गभर्नरमा नियुक्त गरिएको हो।
डेपुटी गभर्नरमा नियुक्त हुनुअघि रावल नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। राष्ट्र बैंकमा करिब दुई दशकको अनुभव रहेका रावलले बैंक सुपरीवेक्षण, वित्तीय सूचना एकाइ, बैंक तथा वित्तीय संस्था नियमन र मुद्रा व्यवस्थापनलगायतका क्षेत्रमा जिम्मेवारी सम्हालिसकेका छन्।
रावल २०८२ सालमा कार्यकारी निर्देशकमा बढुवा भएका थिए। त्यसपछि उनले बैंक सुपरीवेक्षण विभागको नेतृत्व गर्दै बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरिवेक्षणसम्बन्धी महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए।
बैंकिङ क्षेत्रको नियमन तथा सुपरीवेक्षणमा लामो अनुभव भएका रावलको नियुक्तिलाई राष्ट्र बैंकको नियामकीय नेतृत्वका दृष्टिले महत्वपूर्ण मानिएको छ।
रावलको नियुक्तिसँगै नेपाल राष्ट्र बैंकमा रिक्त रहेको डेपुटी गभर्नर पदमध्ये अर्को एक पद पनि पूर्ति भएको छ। डेपुटी गभर्नरका रूपमा रावलले बैंक तथा वित्तीय क्षेत्रको नियमन, वित्तीय स्थायित्व र केन्द्रीय बैंकका नीतिगत तथा सुपरिवेक्षणसम्बन्धी काममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 0