काठमाडौं । नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्था थप कडा र आधुनिक बनाएको छ। केन्द्रीय बैंकले नयाँ ‘Risk Management Guidelines’ जारी गर्दै परम्परागत वित्तीय तथा कर्जा जोखिमसँगै जलवायु परिवर्तन, साइबर जोखिम तथा कृत्रिम बौद्धिकता (एआई) र मेसिन लर्निङबाट सिर्जित जोखिमलाई समेत जोखिम व्यवस्थापनको दायरामा समेटेको छ। नयाँ व्यवस्थाले बैंकिङ प्रणालीमा पछिल्लो समय देखिएका प्रविधि तथा वातावरणीय जोखिमलाई संस्थागत रूपमा पहिचान, मूल्यांकन र नियन्त्रण गर्न जोड दिएको छ।
नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले जलवायु तथा विपद्जन्य जोखिमलाई आफ्नै जोखिम व्यवस्थापन प्रणालीमा समावेश गर्नुपर्नेछ। विशेषगरी जलवायु परिवर्तन तथा बाढी, पहिरोजस्ता प्राकृतिक विपद्को सम्भावित प्रभावलाई बैंकको लगानी तथा कर्जा पोर्टफोलियोमा मूल्यांकन गर्नुपर्ने व्यवस्था गरिएको छ। यसले जलवायु तथा भौतिक विपद्को जोखिम बढी रहेका जलविद्युत्, पूर्वाधारलगायतका ठूला परियोजनामा लगानी गर्दा सम्भावित जोखिमको पूर्वमूल्यांकनलाई थप महत्त्व दिने देखिन्छ।
त्यस्तै, एआई तथा मेसिन लर्निङ प्रयोग गर्ने बैंक तथा वित्तीय संस्थाले प्रविधि जोखिम व्यवस्थापन र जिम्मेवार एआई प्रयोगसम्बन्धी स्पष्ट व्यवस्था बनाउनुपर्नेछ। डिजिटल ठगी नियन्त्रण, साइबर सुरक्षा, प्रणालीको नियमित परीक्षण तथा कमजोरी पहिचान गर्ने अभ्यासलाई पनि बलियो बनाउनुपर्ने व्यवस्था गरिएको छ। बैंकिङ प्रणालीमा साइबर आक्रमण तथा डिजिटल जोखिम बढ्दै गएको अवस्थामा यसले प्रविधि सुरक्षालाई जोखिम व्यवस्थापनको मुख्य हिस्सा बनाउनेछ।
नयाँ निर्देशिकाले कर्जा जोखिम तथा खराब कर्जा (एनपीएल) व्यवस्थापनमा पनि कडाइ गरेको छ। जोखिमलाई लुकाउने वा वास्तविक अवस्थाभन्दा फरक देखाउने प्रवृत्ति रोक्न प्रभावकारी निगरानी तथा नियन्त्रण प्रणाली अपनाउनुपर्नेछ। साथै, बैंकको Chief Risk Officer (CRO) लाई व्यावसायिक विस्तारको दबाबबाट स्वतन्त्र रूपमा जोखिम मूल्यांकन गर्ने वातावरण बनाउँदै सञ्चालक समितिसँग प्रत्यक्ष रिपोर्टिङको व्यवस्था बलियो बनाइएको छ। यसले जोखिम व्यवस्थापनलाई बैंकको व्यावसायिक निर्णयभन्दा माथिल्लो तहको संस्थागत प्राथमिकताका रूपमा स्थापित गर्ने उद्देश्य राखेको देखिन्छ।
प्रतिक्रिया 0