नेपाल राष्ट्र बैंकले २०२६/२७ देखि २०३०/३१ सम्मका लागि ‘फिनटेक रणनीति फर डिजिटल फाइनान्सियल सर्भिसेज’को रणनीतिक रूपरेखा अघि सारेको छ। रणनीतिक रूपरेखाले नेपालमा विश्वासिलो, नवीन र समावेशी डिजिटल वित्तीय पारिस्थितिक प्रणाली विकास गर्ने लक्ष्य राखेको छ। यसमार्फत वित्तीय पहुँच र वित्तीय गहिराइ विस्तारसँगै डिजिटल वित्तीय सेवाको दक्षता तथा दिगो आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्य राखिएको छ।
रणनीतिले डिजिटल वित्तीय सेवाको पहुँच विस्तार, वित्तीय क्षेत्रमा प्रतिस्पर्धा प्रवर्द्धन, वित्तीय सेवाका विकल्प विस्तार, वित्तीय स्थायित्वका जोखिम सम्बोधन तथा प्रविधिको प्रयोगमार्फत वित्तीय सेवाको लागत घटाउने विषयलाई प्रमुख उद्देश्यका रूपमा अघि सारेको छ। यसको लाभ लक्षित समूहमा लघु, साना तथा मझौला उद्यम (MSMEs), ग्रामीण क्षेत्र, युवा, महिला, बालबालिका र गिग अर्थतन्त्रसँग सम्बन्धित वर्गलाई विशेष प्राथमिकता दिइएको छ।
रणनीतिक रूपरेखाले तीन प्रमुख स्तम्भ तय गरेको छ। पहिलोमा डिजिटल पूर्वाधार विकास, दोस्रोमा नीति, नियमन तथा सुशासन र तेस्रोमा फिनटेक इकोसिस्टम विकास रहेका छन्। डिजिटल पूर्वाधार आधुनिकीकरण तथा नियामकीय र सुपरिवेक्षकीय प्रविधि विकाससँगै फिनटेकमैत्री नियामकीय व्यवस्था, फिनटेक खेलाडीबीच समान प्रतिस्पर्धाको वातावरण र सुरक्षित तथा उत्थानशील डिजिटल वित्तीय सेवा प्रवाहमा जोड दिइएको छ।
त्यस्तै, फिनटेक रणनीतिले नयाँ तथा सुधारिएको वित्तीय उत्पादन विकास, नवप्रवर्तनलाई सहयोग, डिजिटल वित्तीय साक्षरता तथा सशक्तीकरण, नियामक तथा सरोकारवालाबीच समन्वय र नियामकीय तथा सुपरिवेक्षकीय क्षमता विकासलाई पनि प्राथमिकतामा राखेको छ। अन्ततः सुरक्षित, विश्वसनीय, समावेशी, नवीन, अन्तरसञ्चालनयोग्य र उत्थानशील डिजिटल वित्तीय प्रणाली निर्माण गर्दै डिजिटल वित्तीय सेवाको पहुँच, प्रयोग र गुणस्तर बढाउने रणनीतिक अपेक्षा गरिएको छ।
प्रतिक्रिया 0