नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था हरूका लागि ‘कर्मचारी सेवा विनियमावली मस्यौदा’ सार्वजनिक गर्दै सरोकारवालाबाट सुझाव मागेको छ। बैंक तथा वित्तीय संस्थामा कर्मचारी नियुक्ति, बढुवा, पदपूर्ति, सेवा-सुविधा, कार्यसम्पादन, अनुशासन तथा मानव स्रोत व्यवस्थापन सम्बन्धी व्यवस्थालाई थप व्यवस्थित, पारदर्शी र एकरूप बनाउन राष्ट्र बैंकले उक्त मस्यौदा तयार गरेको हो।
५९ पृष्ठ लामो मस्यौदामा कर्मचारीको वर्गीकरण, संगठनात्मक संरचना, दरबन्दी निर्धारण, स्थायी तथा करार कर्मचारीको व्यवस्था, पदपूर्ति समिति गठन, नियुक्ति प्रक्रिया तथा जिम्मेवारी निर्धारणका विषय समेटिएका छन्। मस्यौदाअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो रणनीतिक योजना, व्यवसायिक आवश्यकता र मानव स्रोत योजनाका आधारमा दरबन्दी तथा संगठन संरचना निर्धारण गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
मस्यौदा विनियमावलीले कर्मचारी भर्ना र बढुवालाई थप प्रतिस्पर्धात्मक तथा पारदर्शी बनाउने लक्ष्य लिएको देखिन्छ। प्रमुख कार्यकारी अधिकृतदेखि अन्य कर्मचारीको नियुक्ति तथा बढुवा प्रक्रियामा पदपूर्ति समितिको सिफारिसलाई महत्व दिइएको छ भने रिक्त व्यवस्थापकीय पदहरू निश्चित समयभित्र पूर्ति गर्नुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
यसका साथै, बैंकका ‘कोर फङ्सन’ मा करार वा अस्थायी कर्मचारीको प्रयोग सीमित गर्ने, प्रत्येक कर्मचारीको स्पष्ट कार्यविवरण तयार गर्नुपर्ने तथा मानव स्रोत व्यवस्थापनलाई संस्थागत बनाउनुपर्ने विषयहरू पनि मस्यौदामा समावेश छन्।
राष्ट्र बैंकले प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जन गरी अन्तिम मस्यौदा कर्मचारी सेवा विनियमावली लागू गर्ने अपेक्षा गरिएको छ। यसले बैंक तथा वित्तीय संस्थाहरूमा कर्मचारी व्यवस्थापनसम्बन्धी नीतिहरूमा एकरूपता ल्याउनुका साथै सुशासन र व्यावसायिकता प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।
नेपाल राष्ट्र बैंकले कर्मचारी सेवा विनियमावलीको मस्यौदामाथि सरोकारवालाको राय-सुझाव माग्दै २०८३ असार १५ गतेभित्र लिखित रूपमा वा इमेलमार्फत सुझाव पठाउन अनुरोध गरेको छ। प्राप्त सुझावका आधारमा मस्यौदालाई अन्तिम रूप दिइने राष्ट्र बैंकले जनाएको छ।
Email : nrbbfirdppd@nrb.org.np
पुरै मस्यौदा पढ्नको लागि तलको लिन्कमा क्लिक गर्नुहोस ।
https://www.nrb.org.np/contents/uploads/2026/06/Notice-no.-22_Model-Employee-Bylaws.pdf
प्रतिक्रिया 0