राष्ट्र बैंकद्वारा तीन संस्थामाथि कारबाही, हिमालयन बैंकलाई जरिवाना

शनिबार, २१ कार्तिक २०८३, राति ८:५७


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा हिमालयन बैंक लिमिटेड, साग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ईसेवा लिमिटेडमाथि कारबाही गरेको छ। राष्ट्र बैंकले हिमालयन बैंकलाई अनिवार्य नगद मौज्दात अनुपात कायम नगरेको भन्दै जरिवाना गरेको छ भने साग्रिला डेभलपमेन्ट बैंक र ईसेवालाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था पालना नगरेको भन्दै सचेत गराएको छ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको विवरणअनुसार हिमालयन बैंकलाई ४ लाख २६ हजार ८८४ रुपैयाँ ९९ पैसा जरिवाना गरिएको छ। बैंकले २०८३ साउन ३ गते एक दिनका लागि नेपाल राष्ट्र बैंकमा दैनिक रूपमा कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम ९० प्रतिशत रकम कायम नगरेपछि उक्त जरिवाना गरिएको हो।

त्यस्तै, राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखाले साग्रिला डेभलपमेन्ट बैंकलाई बृहत् ग्राहक पहिचान तथा नियमित ग्राहक पहिचान अद्यावधिक गर्नुपर्ने व्यवस्थाको पालना नगरेको भन्दै सचेत गराएको छ। बैंकले ग्राहक पहिचानसम्बन्धी नियामकीय व्यवस्था पालना नगरेको भन्दै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम कारबाही गरिएको राष्ट्र बैंकको विवरणमा उल्लेख छ।

त्यसैगरी, ईसेवा लिमिटेडलाई पनि ग्राहक पहिचान सम्बन्धी व्यवस्था पालना नगरेको भन्दै सचेत गराइएको छ। भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ तथा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ मा रहेको बेनामी वा काल्पनिक नाममा खाता खोल्ने तथा कारोबार गर्ने/गराउन नहुने व्यवस्थाको पालना नभएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया 0