काठमाडौं । नेपाल राष्ट्र बैंकले २०२५ सिरिजको १ हजार रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याउने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै नयाँ नोटका विशेषतासहित असोज ८ गतेदेखि चलनचल्तीमा ल्याउने जनाएको छ।
नयाँ नोट साविककै आकारमा रहनेछ। नोटको अगाडिको भागमा श्री नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १ हजार रुपैयाँ तुरुन्त पाइनेछ भन्ने प्रतिज्ञात्मक व्यवस्था उल्लेख गरिएको छ। नोटको बायाँतर्फ हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप रहनेछ। पानीछापमा १ हजारको अंकसमेत देखिनेछ।
नोटको अगाडिको भागमा दृष्टिविहीन व्यक्तिले स्पर्शबाट सहजै पहिचान गर्न सक्ने गरी ‘एम’ अक्षर तथा कोणीय रेखाहरू राखिएका छन्। नोटमा ३ दशमलव ५ मिलिमिटर चौडाइको चलायमान सुरक्षा धागो प्रयोग गरिएको छ। उक्त धागो सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने विशेषतासहितको रहेको राष्ट्र बैंकले जनाएको छ। सुरक्षा धागोमा ‘राष्ट्र बैंक’ तथा ‘१ हजार’ अंकसमेत अंकित छन्।
नोटमा राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहनेछ। नोटको तल्लो भागमा सिरिज नम्बर ‘वि.सं. २०८२’ उल्लेख गरिएको छ। नोटको पछाडिको भागमा चितवनस्थित सरकारी हात्तीसारमा रहेका नेपाली हात्तीमध्ये देवकलीबाट जन्मिएका दुर्लभ जुम्ल्याहा हात्ती राम र लक्ष्मणको चित्र राखिएको छ।
त्यसैगरी, नोटको पछाडिको भागमा नेपालको सातवटै प्रदेश जनाउने गरी सातवटा लालीगुराँसका चित्र, ‘एक हजार रुपैयाँ’ जनाउने अक्षर तथा हनुमानढोकास्थित ऐतिहासिक महत्वको थामको आकृति राखिएको छ। नोटको पछाडिको भागमा पनि अंकको केही भाग अगाडिबाट हेर्दा पूरा देखिने पारदर्शी मिलान चिन्ह राखिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार यसअघि प्रचलनमा रहेका १ हजार रुपैयाँ दरका नोट पनि यथावत् रूपमा चलनचल्तीमा रहनेछन्।
प्रतिक्रिया 0