गभर्नर पौडेल ४९औँ सार्क फाइनान्स गभर्नर्स समूह बैठकमा सहभागी

सोमबार, २९ असार २०८३, बेलुका ६:५९
Font Size: 20px

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले भुटानको पारोमा आयोजित ४९औँ सार्क फाइनान्स (SAARCFINANCE) गभर्नर्स समूह बैठक तथा गोष्ठीमा सहभागी हुँदै दक्षिण एसियामा डिजिटल भुक्तानी, वित्तीय नवप्रवर्तन तथा क्षेत्रीय वित्तीय एकीकरणका लागि नेपालको अनुभव र प्रतिबद्धता प्रस्तुत गरेका छन्। उक्त बैठक असार २५ र २६ गते आयोजना भएको थियो।

बैठकको पहिलो दिन भुटानका अर्थमन्त्री ल्योनपो लेके दोर्जीले उद्घाटन मन्तव्य दिएका थिए भने भुटानको रोयल मौद्रिक प्राधिकरणका गभर्नर याङचेन सोग्यालले सहभागीहरूको स्वागत गरेका थिए।

सो अवसरमा 'डिजिटल भुक्तानी सञ्जाल र नवप्रवर्तनमार्फत क्षेत्रीय वित्तीय एकीकरणको प्रवर्द्धन' विषयमा आयोजित प्यानल छलफलमा गभर्नर पौडेलसँगै भुटान, श्रीलङ्का तथा भारतका केन्द्रीय बैंकका उच्च अधिकारीहरू सहभागी थिए। छलफलका क्रममा गभर्नर पौडेलले नेपालमा पछिल्ला वर्षहरूमा डिजिटल भुक्तानी प्रणालीले हासिल गरेको उल्लेखनीय प्रगति, विद्युतीय भुक्तानी पूर्वाधारको विस्तार तथा सीमापार भुक्तानी प्रणाली विकासका लागि नेपालले गरिरहेका प्रयासबारे जानकारी दिएका थिए।

बैठकको अर्को प्राविधिक सत्रमा 'सीमापार भुक्तानी प्रणालीबीच अन्तरआबद्धता (क्रस–बोर्डर पेमेन्ट इन्टरअपरेबिलिटी) प्रवर्द्धनका अवसर र चुनौती' विषयमा प्रस्तुति गरिएको थियो। उक्त सत्रमा नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारीले नेपालमा सीमापार भुक्तानी प्रणालीको वर्तमान अवस्था, भइरहेका पहल तथा भावी योजनाबारे प्रस्तुति दिएका थिए।

बैठकको दोस्रो दिन सम्पन्न गभर्नर्स समूहको बैठकमा गभर्नर पौडेलले नेपालमा राजनीतिक स्थायित्व कायम रहेको, वित्तीय क्षेत्र पनि सुदृढ अवस्थामा रहेको तथा समष्टिगत आर्थिक सूचकहरू सकारात्मक दिशामा अघि बढिरहेको जानकारी दिएका थिए। उनले अन्तर्राष्ट्रिय आर्थिक तथा भू–राजनीतिक चुनौतीका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता कायम रहे पनि नेपालले वित्तीय तथा आर्थिक स्थायित्वलाई मजबुत बनाउने प्रयासलाई निरन्तरता दिएको उल्लेख गरेका थिए।

बैठकमा सहभागी अन्य सदस्य राष्ट्रका केन्द्रीय बैंकका प्रतिनिधिहरूले पनि आफ्ना–आफ्ना मुलुकको आर्थिक तथा वित्तीय अवस्थाबारे जानकारी आदानप्रदान गरेका थिए। साथै सार्क क्षेत्रभित्र सीमापार भुक्तानी प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा सहभागी गभर्नरहरूले विशेष जोड दिएका थिए।

यसका अतिरिक्त बैठकमा जलवायु वित्त, दिगो विकास, वित्तीय समावेशीकरण, सार्क राष्ट्रहरूबीच मुद्रा अदला–बदली (करेन्सी स्वाप) व्यवस्था, साझा अनुसन्धान तथा तथ्याङ्क प्रणाली र आगामी कार्यदिशा लगायतका विषयमा विस्तृत छलफल भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

भुटान भ्रमणका क्रममा गभर्नर पौडेलले भुटानका अर्थमन्त्री ल्योनपो लेके दोर्जीसँग छुट्टै भेटवार्ता पनि गरेका थिए। बैठकमा नेपाल राष्ट्र बैंकको तर्फबाट भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारी, गभर्नर कार्यालयका निर्देशक शरणकुमार अधिकारी तथा उपनिर्देशक स्वेच्छा शाक्य सहभागी थिए।

नेपाल राष्ट्र बैंकका अनुसार सार्क फाइनान्स (SAARCFINANCE) दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतका सदस्य राष्ट्रका केन्द्रीय बैंकका गभर्नर तथा अर्थ सचिवहरूको क्षेत्रीय सञ्जाल हो। सन् १९९८ मा स्थापना भएको यस सञ्जाललाई सन् २००२ मा काठमाडौंमा सम्पन्न एघारौँ सार्क शिखर सम्मेलनले औपचारिक मान्यता दिएको थियो। यसको उद्देश्य सदस्य राष्ट्रबीच आर्थिक तथा वित्तीय नीति समन्वय, अनुभव आदानप्रदान र क्षेत्रीय सहकार्यलाई प्रवर्द्धन गर्नु हो।


प्रतिक्रिया 0