काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रबक्ता गुरु प्रसाद पौडेल ले आगामी आर्थिक वर्षको बजेटले लिएको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुग्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्ने बताएका छन् । उनले ६ प्रतिशतभित्र मुद्रास्फिति कायम राख्ने, आवश्यक तरलता व्यवस्थापन गर्ने तथा वित्तीय प्रणालीलाई थप प्रभावकारी बनाउने दिशामा नीति केन्द्रित हुने उल्लेख गरे ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘पोस्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै पौडेलले सुशासन, डिजिटाइजेसन र विद्युतीकरणलाई बजेटले प्राथमिकता दिएकाले आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पर्न सक्ने बताए ।
उनले साना कर्जाको मूल्यांकन क्रेडिट स्कोर तथा कारोबारको ट्रयाक रेकर्डका आधारमा गर्ने व्यवस्था अघि बढिरहेको जानकारी दिए। साथै, फिनटेक मार्केटप्लेसको अवधारणालाई पनि बजेटले समेटेकाले यससम्बन्धी काम अझ तीव्र हुने विश्वास व्यक्त गरे ।
पौडेलका अनुसार सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई थप परिष्कृत गरी मध्यम तथा निम्न मध्यम वर्गलाई लक्षित बनाउने प्रयास गरिएको छ। साथै, बढ्दो निष्क्रिय कर्जा (NPL) र गैर-बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गर्ने विषयलाई पनि बजेटले प्राथमिकतामा राखेको छ।
विदेशी मुद्रा सञ्चिति उच्च स्तरमा पुगेको अवस्थामा त्यसको प्रभावकारी उपयोगका लागि ‘सर्भरेन वेल्थ फन्ड’ सम्बन्धी अवधारणालाई पनि अगाडि बढाइएको उनले बताए। तर रेमिट्यान्सबाट आएको विदेशी मुद्राको उपयोगमा सावधानी अपनाउनुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया 0