राष्ट्र बैंकले नोभेम्बर २ मा फिनटेक शोकेस आयोजना गर्ने

सोमबार, २६ आश्विन २०८३, बेलुका ५:२१


काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रविधि (फिनटेक) क्षेत्रमा नवीन सोच, प्रविधि तथा समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एनआरबी फिनटेक इनोभेसन शोकेस इभेन्ट २०२६’ आयोजना गर्ने भएको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आयोजना गर्न लागेको उक्त कार्यक्रम सन् २०२६ नोभेम्बर २ अर्थात् २०८३ कात्तिक १६ गते सोमबार राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा सञ्चालन हुनेछ। बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म चल्ने कार्यक्रमको नारा ‘आइडियाज फर लास्टिङ इम्प्याक्ट’ अर्थात् दीर्घकालीन प्रभाव पार्ने नवीन सोच रहेको छ।

कार्यक्रममा फिनटेक क्षेत्रमा काम गर्ने नवप्रवर्तकहरूले आफ्ना नयाँ विचार, प्रविधि तथा समाधान प्रस्तुत गर्न सक्नेछन्। वित्तीय सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने नवीन प्रयोग तथा अवधारणालाई सरोकारवालामाझ प्रस्तुत गर्ने मञ्चका रूपमा कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रममा राष्ट्र बैंकका कर्मचारीसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक संस्था, रेमिट्यान्स कम्पनी, विकास साझेदार, सरकारी मन्त्रालय तथा निकाय र सञ्चारमाध्यमका प्रतिनिधिहरूलाई आमन्त्रण गरिनेछ।

कार्यक्रममा स्टल तथा प्रदर्शनी, अन्तरक्रियात्मक अभ्यास र सामूहिक छलफलजस्ता गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ। सामूहिक सत्रअन्तर्गत प्यानल छलफल तथा प्रविधि र समाधानको प्रत्यक्ष प्रदर्शनसमेत गरिनेछ।

फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्नुका साथै वित्तीय क्षेत्रका विभिन्न सरोकारवालाबीच सहकार्य र ज्ञान आदानप्रदानको अवसर सिर्जना गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहनेछ। यसबाट डिजिटल भुक्तानी तथा वित्तीय सेवाको विकासमा योगदान पुर्‍याउन सक्ने नवीन अवधारणाहरू पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया 0