काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा अध्ययन गर्न जाने तथा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै विदेशी मुद्रा सटहीसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ।
विदेशी विनिमय व्यवस्थापन विभागले मंगलबार जारी गरेको परिपत्रमार्फत एकीकृत परिपत्र-२०८२ मा संशोधन गर्दै विद्यार्थी भिसा प्राप्त, नवीकरण तथा निवास खर्चका लागि विदेशी मुद्रा सटही प्रक्रियालाई थप सहज बनाएको हो।
संशोधित व्यवस्थाअनुसार विदेशमा अध्ययन गर्न जाने वा अध्ययनरत विद्यार्थीका लागि सम्बन्धित मुलुकस्थित नेपाली राजदूतावास वा सरकारी निकायले विद्यार्थीको खातामा विदेशी मुद्रा जम्मा भएको पुष्टि गरेको खण्डमा बैंक तथा वित्तीय संस्थाले आवश्यक रकम बराबरको विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउन सक्नेछन्। साथै विनिमय दरको उतारचढावका कारण पठाउनुपर्ने रकम अपुग हुन गएमा थपमा ५ प्रतिशतसम्म अमेरिकी डलर वा अन्य परिवर्त्य विदेशी मुद्रा पठाउन सकिने व्यवस्था गरिएको छ।
त्यसैगरी, नेपाल राष्ट्र बैंकले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ तथा अन्य प्रचलित कानुनअनुसार डिजिटल हस्ताक्षरबाट प्रमाणित गरिएका कागजातलाई पनि मान्यता दिने व्यवस्था गरेको छ। यसबाट विद्यार्थी तथा सेवाग्राहीले भौतिक कागजात पेश गर्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 0