शेयर–डिबेञ्चर लगानीमा ४५ दिन होल्ड गर्नु पर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन तथा परिमार्जन गरेको छ। संशोधनमार्फत बैंक तथा वित्तीय संस्थाको लगानी नीति, लगानीसम्बन्धी जोखिम व्यवस्थापन, रिपोर्टिङ तथा काउन्टरसाइक्लिकल बफरसम्बन्धी व्यवस्था परिवर्तन गरिएको छ।
संशोधित व्यवस्थाअनुसार सार्वजनिक रूपमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेका संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा ४५ दिनभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाइनेछ। यसबाहेक कुनै पनि प्रकारको प्रबन्धबाट संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा अल्पकालीन लगानी गर्न नपाइने व्यवस्था गरिएको छ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाले सरकारी सुरक्षणपत्र, नेपाल राष्ट्र बैंक ऋणपत्र तथा संगठित संस्थाका शेयर तथा डिबेञ्चरलगायतका उपकरणमा लगानी गर्दा सञ्चालक समितिबाट स्वीकृत लगानी नीति तथा कार्यविधि लागू गर्नुपर्नेछ। उक्त नीतिमा लगानीको उद्देश्य तथा रणनीति, लगानी गर्न सकिने शेयर तथा डिबेञ्चरलगायतका उपकरण, बैंकिङ बुक तथा ट्रेडिङ बुकमा वर्गीकरण र स्वीकार्य तथा अस्वीकार्य लगानीलगायतका विषय समावेश गर्नुपर्नेछ।
लगानीसम्बन्धी निर्णय तथा कारोबारमा स्वार्थको द्वन्द्व नहुने व्यवस्था गर्नुपर्ने, लगानी स्वीकृत गर्ने स्पष्ट प्रक्रिया तथा अधिकार निर्धारण गर्नुपर्ने र लगानी गर्न तोकिएको अधिकारीले गर्न सक्ने सीमासम्बन्धी व्यवस्था गर्नुपर्नेछ। साथै लगानीसम्बन्धी अधिकार प्राप्त अधिकारीको क्षमता अभिवृद्धिका विषयमा समेत स्पष्ट व्यवस्था गर्नुपर्नेछ।
राष्ट्र बैंकले लगानीसँग सम्बन्धित जोखिम व्यवस्थापनलाई समेत थप स्पष्ट बनाएको छ। बैंक तथा वित्तीय संस्थाले ट्रेडिङ रणनीति, जोखिम लिने क्षमता तथा सीमा, नाफा सुरक्षित गर्ने तथा नोक्सानी रोक्ने सीमा, लगानीको जोखिम तथा एकाग्रता सीमा र ट्रेडिङ बुकको दैनिक बजार मूल्यांकनलगायतका विषयमा व्यवस्था गर्नुपर्नेछ। लगानीबाट उत्पन्न हुनसक्ने बजार जोखिम, तरलता जोखिम तथा अन्य जोखिमको पहिचान, मापन, अनुगमन, व्यवस्थापन, नियन्त्रण र रिपोर्टिङ गर्ने प्रक्रिया पनि तय गर्नुपर्नेछ।
त्यसैगरी, वित्तीय उपकरण जारी गर्ने संस्थाको नियमित आन्तरिक जोखिम मूल्यांकन, व्यवस्थापन प्रतिवेदन तथा उल्लंघनसम्बन्धी प्रतिवेदन र लेखापरीक्षणसम्बन्धी अभिलेख तथा लगहरू कायम राख्नुपर्ने व्यवस्था गरिएको छ। तयार गरिएको लगानी नीति तथा कार्यविधि सम्बन्धित सुपरिवेक्षण विभागमा तोकिएबमोजिम पेश गर्नुपर्नेछ।
यसैगरी, वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८०/८१ देखि कायम गर्दै आएको क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५ बमोजिमको काउन्टरसाइक्लिकल बफर आर्थिक वर्ष २०८३/८४ का लागि शून्य प्रतिशत कायम गरिएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लगानी विवरणलाई व्यवस्थित गर्न बैंकिङ बुक तथा ट्रेडिङ बुकसम्बन्धी छुट्टाछुट्टै विवरण पेश गर्ने व्यवस्था पनि गरेको छ। यसमा लगानी गरिएको उपकरण, लगानी मिति, लगानी रकम, बिक्री मिति, बिक्री रकम तथा नाफा/नोक्सानसम्बन्धी विवरण समावेश गर्नुपर्नेछ।
प्रतिक्रिया 0