साइबर ठगी नियन्त्रणमा राष्ट्र बैंकको निर्देशन

बिहीबार, १९ कार्तिक २०८३, राति १०:००


काठमाडौं । नेपाल राष्ट्र बैंकले साइबर स्क्याम तथा डिजिटल ठगी नियन्त्रणका लागि स्थापना गरिएको एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (Integrated Anti-Cyber Scam Center–IACSC) को कार्य सञ्चालन र समन्वयलाई प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूलाई सम्पर्क अधिकारी तोक्न आग्रह गरेको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले २०८३ कात्तिक १९ गते सूचना जारी गर्दै सम्पूर्ण विकास बैंक, वित्त कम्पनी, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकहरूलाई एक जना सम्पर्क अधिकारीको विवरण उपलब्ध गराउन आग्रह गरेको हो। सूचनामा ई–सेवा लिमिटेड र आईएमई खल्ती लिमिटेडलाई भने यस अनुरोधबाट बाहिर राखिएको छ।

नेपाल सरकार, गृह मन्त्रालयको २०८३ भदौ २३ गतेको निर्णयअनुसार स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रको स्थापना र कार्य सञ्चालन सम्बन्धी दिग्दर्शन, २०८३’ को बुँदा नम्बर ६(१) अनुसार उक्त केन्द्रको कार्य समन्वय, सहकार्य तथा सहजीकरणका लागि सम्पर्क अधिकारी माग गरिएको राष्ट्र बैंकले जनाएको छ।

उक्त प्रतिकार्य केन्द्रमा नेपाल प्रहरी प्रधान कार्यालय तथा साइबर ब्युरोबाट कर्मचारीहरू खटिएका छन्। केन्द्रमा भौतिक रूपमा उपस्थित रहने ‘क’ वर्गका वाणिज्य बैंक, ई–सेवा लिमिटेड र खल्ती लिमिटेडबाहेकका बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक (PSPs) र भुक्तानी प्रणाली सञ्चालक (PSOs) बाट एक–एक जना सम्पर्क अधिकारी माग गरिएको सूचनामा उल्लेख छ।

राष्ट्र बैंकले तोकिने सम्पर्क अधिकारीको नामथर, २४ सै घण्टा उपलब्ध हुने फोन नम्बर र कार्यालयको इमेल ठेगानासहितको विवरण उपलब्ध गराउन भनेको छ। साइबर स्क्याम तथा डिजिटल वित्तीय ठगीसम्बन्धी घटनामा सम्बन्धित संस्थाबीच तत्काल सम्पर्क, सूचना आदानप्रदान र आवश्यक समन्वय गर्न यस्तो व्यवस्था गर्न लागिएको हो।

एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रमार्फत बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणालीसँग सम्बन्धित साइबर ठगीका घटनामा समन्वय तथा सहकार्यलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया 0