सांस्कृतिक रंगमा डिजिटल दक्षिणा ओझेलमा
काठमाडौं । दसैं नजिकिएसँगै नयाँ नोटको चर्चा पनि बढेको छ। टीका–जमरा र आशीर्वादसँगै दक्षिणा दिने नेपाली परम्परामा नयाँ तथा चिटिक्क परेका नोटको प्रयोगलाई विशेष महत्व दिइन्छ। यही सांस्कृतिक अभ्यासका कारण दसैं र नयाँ नोटको सम्बन्ध अझै बलियो देखिन्छ।
यसपालि नेपाल राष्ट्र बैंकले नयाँ नोट सटहीका लागि विगतमा जस्तो छुट्टै अवधि तोकेको छैन। राष्ट्र बैंकका अनुसार नयाँ नोट सटही सुविधा नियमित रूपमा उपलब्ध छ र सर्वसाधारणले राष्ट्र बैंकका कार्यालय तथा बैंक तथा वित्तीय संस्थाका शाखाबाट नोट साट्न सक्छन्। यसपालि राष्ट्र बैंकसँग नयाँ नोटको पर्याप्त मौज्दात रहेकाले माग गर्नेले एक–दुई सेटसम्म नयाँ नोट पाउन सक्ने व्यवस्था गरिएको छ।
विगत दुई आर्थिक वर्षमा भने दसैंका लागि नयाँ छापिएका नोटको सट्टा चलनचल्तीमा रहेका सफा तथा प्रयोगयोग्य नोट उपलब्ध गराइएको थियो। राष्ट्र बैंकका अनुसार दसैं–तिहारको समयमा औसतमा ६० देखि ७० अर्ब रुपैयाँ बराबरका नयाँ नोट राष्ट्र बैंकको भल्टबाट बाहिरिने गरेका छन्। त्यसमध्ये करिब १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणको हातमा प्रत्यक्ष जाने गरेको छ भने बाँकी रकम बैंक तथा वित्तीय संस्थाको कारोबारमा प्रयोग हुन्छ।
नयाँ नोट व्यवस्थापनको लागत पनि कम छैन। राष्ट्र बैंकले नोट छपाइ, वितरण तथा व्यवस्थापनमा वार्षिक करिब ३ अर्ब रुपैयाँ खर्च गर्ने गरेको छ। ठूलो मात्रामा नयाँ नोट बजारमा पठाउँदा नगद प्रवाह बढ्ने र त्यसले वस्तु तथा सेवाको माग तथा मूल्यमा समेत प्रभाव पार्न सक्ने भएकाले नयाँ नोट व्यवस्थापन राष्ट्र बैंकका लागि मौद्रिक व्यवस्थापनसँग जोडिएको विषयसमेत हो।
यता नेपालमा डिजिटल भुक्तानीको प्रयोग भने तीव्र रूपमा बढिरहेको छ। राष्ट्र बैंकको २०२३/२४ को तथ्यांकअनुसार वालेट प्रयोगकर्ता १ करोड ८९ लाखबाट बढेर २ करोड ३४ लाख, मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड १३ लाखबाट बढेर २ करोड ४६ लाख पुगेका थिए। त्यस्तै connectIPS प्रयोगकर्ता ११ लाखबाट बढेर १२ लाख ७७ हजार पुगेका थिए। यसले नगदरहित कारोबारतर्फ नेपाली उपभोक्ताको अभ्यास विस्तार भइरहेको देखाउँछ।
तर डिजिटल भुक्तानीको प्रयोग बढे पनि दसैंको दक्षिणा भने अझै ठूलो मात्रामा नगदमै केन्द्रित छ। दक्षिणा दिने संस्कार, बालबालिकालाई हातमै पैसा दिने परम्परा, ज्येष्ठ पुस्ताको डिजिटल माध्यमप्रतिको सीमित पहुँच तथा डिजिटल दक्षिणालाई विशेष रूपमा प्रवर्द्धन गर्ने अभ्यास कमजोर हुनु यसका कारण मान्न सकिन्छ। त्यसैले डिजिटल कारोबार बढिरहेको अवस्थामा पनि दसैंको सांस्कृतिक व्यवहारमा नयाँ नोटको आकर्षण तत्काल घटिहाल्ने अवस्था देखिँदैन। नयाँ नोट र दसैंबीचको सम्बन्ध अब विस्तारै परिवर्तन हुँदै गए पनि नगदबाट डिजिटल दक्षिणातर्फको संक्रमण भने अझै समय लाग्ने विषय बनेको छ।
प्रतिक्रिया 0