स्यान्डबक्समा सुरु गर्यो नयाँ वित्तीय प्रविधि
हाम्रो बैंकिङ । थाइल्यान्डको प्रमुख वाणिज्य बैंक सियाम कमर्सियल बैंक (SCB) ले बैंक निक्षेपलाई डिजिटल टोकनका रूपमा प्रयोग गर्न सकिने प्रविधि अर्थात् टोकनाइज्ड निक्षेप (Tokenised Deposit) परीक्षणका लागि केन्द्रीय बैंकको नियामकीय स्यान्डबक्समा सहभागी हुन आवेदन दिएको छ। बैंक अफ थाइल्यान्ड (BOT) को नियामकीय स्यान्डबक्समा टोकनाइज्ड निक्षेप परीक्षणका लागि आवेदन दिने एससीबी पहिलो बैंक बनेको हो।
एससीबीको मातृ कम्पनी एससीबीएक्स (SCBX) समूह तथा समूहअन्तर्गतको टोकन एक्स (Token X) कम्पनीले यस परियोजनामा रणनीतिक र प्राविधिक सहयोग गर्नेछन्। प्रारम्भिक चरणमा टोकनाइज्ड निक्षेपलाई डिजिटल लगानी टोकन (Investment Token) सम्बन्धी कारोबारको भुक्तानी तथा राफसाफमा प्रयोग गर्न सकिने सम्भाव्यता अध्ययन गरिनेछ। यसका लागि टोकन एक्सको टीकेएक्स चेन (TKX Chain) प्रविधि प्रयोग गर्ने योजना छ।
यस परीक्षणको मुख्य उद्देश्य परम्परागत बैंक निक्षेप र डिजिटल टोकनमा आधारित सम्पत्तिबीच सम्बन्ध स्थापित गर्दै वित्तीय कारोबारको भुक्तानी तथा राफसाफ प्रक्रियालाई थप प्रभावकारी बनाउनु हो। ब्लकचेन तथा डिस्ट्रिब्युटेड लेजर टेक्नोलोजी (DLT) को प्रयोगबाट कारोबारको प्रक्रिया छिटो, पारदर्शी र प्रभावकारी बनाउन सकिने सम्भावनाको समेत अध्ययन गरिनेछ।
हाल एससीबीको आवेदन बैंक अफ थाइल्यान्डबाट स्वीकृत भइसकेको छैन। आवेदनमाथि नियामकले अध्ययन गरिरहेको छ। अनुमति प्राप्त भएपछि परीक्षण सञ्चालन हुनेछ र परीक्षण सफल भई आवश्यक प्राविधिक तथा नियामकीय मापदण्ड पूरा गरेपछि मात्रै सर्वसाधारणका लागि सेवा उपलब्ध गराउने विषयमा निर्णय हुनेछ।
के हो टोकनाइज्ड निक्षेप ?
टोकनाइज्ड निक्षेप भनेको बैंकमा जम्मा भएको परम्परागत निक्षेपलाई ब्लकचेन वा डिस्ट्रिब्युटेड लेजर टेक्नोलोजीको प्रयोग गरी डिजिटल टोकनका रूपमा प्रतिनिधित्व गराउनु हो। यसमा बैंकमा रहेको निक्षेपको मूल्यलाई डिजिटल स्वरूपमा अभिव्यक्त गरिन्छ र उक्त डिजिटल प्रतिनिधित्वमार्फत वित्तीय कारोबार गर्न सकिन्छ।
जस्तै लागि कुनै ग्राहकको बैंक खातामा एक लाख रुपैयाँ निक्षेप छ भने उक्त निक्षेपलाई डिजिटल टोकनका रूपमा प्रतिनिधित्व गराउन सकिन्छ। त्यसपछि नियामकीय व्यवस्था र प्राविधिक पूर्वाधारअनुसार उक्त टोकनलाई डिजिटल सम्पत्तिसँग सम्बन्धित कारोबारको भुक्तानी तथा राफसाफमा प्रयोग गर्न सकिन्छ।
टोकनाइज्ड निक्षेप सामान्य क्रिप्टोकरेन्सी वा स्टेबलक्वाइनभन्दा फरक अवधारणा हो। क्रिप्टोकरेन्सीको मूल्य बजारको माग तथा आपूर्तिका आधारमा उतारचढाव हुन सक्छ भने टोकनाइज्ड निक्षेप बैंकमा रहेको निक्षेपसँग सम्बन्धित हुन्छ। यसको जारी गर्ने, व्यवस्थापन गर्ने र कारोबार सञ्चालन गर्ने प्रक्रियामा बैंक तथा नियामकको भूमिका महत्त्वपूर्ण हुन्छ।
भविष्यमा कर्जा तथा लगानी सेवामा विस्तारको सम्भावना
एससीबी समूहले टोकनाइज्ड निक्षेपको पूर्वाधारलाई भविष्यमा मुद्रा बजार र पुँजी बजारका विभिन्न वित्तीय उत्पादन तथा सेवासँग जोड्ने सम्भावना देखेको छ। यसबाट डिजिटल लगानी उत्पादनको कारोबार, भुक्तानी तथा राफसाफका साथै टोकनाइज्ड सम्पत्तिलाई धितोका रूपमा प्रयोग गरी कर्जा उपलब्ध गराउनेजस्ता सेवा विकास गर्न सकिने अपेक्षा गरिएको छ।
एससीबीएक्सका प्रमुख नवप्रवर्तन अधिकृत तथा एससीबी १०एक्सका प्रमुख कार्यकारी अधिकृत कावेवुत तेम्फुवापतले भविष्यको वित्तीय प्रणालीमा मुद्रा, सम्पत्ति र लगानीलाई प्रविधिमार्फत जोड्न टोकनाइज्ड निक्षेप महत्त्वपूर्ण विकल्प बन्न सक्ने बताएका छन्। त्यस्तै, एससीबीका डिजिटल च्यानल प्रमुख अर्थित श्रीउम्पोर्नले वास्तविक प्रयोगमार्फत यसको सम्भावना र सीमितता बुझ्न तथा ग्राहकको विश्वास, वित्तीय स्थायित्व र जोखिम व्यवस्थापनलाई प्राथमिकता दिन परीक्षण उपयोगी हुने बताएका छन्।
यसरी बैंकिङ प्रणालीमा रहेको निक्षेपलाई डिजिटल सम्पत्तिको संसारसँग जोड्ने एससीबीको पहलले भविष्यमा वित्तीय कारोबारको स्वरूप परिवर्तन गर्न सक्ने सम्भावना देखाएको छ।
नेपालमा के हुँदैछ ?
नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंक डिजिटल मुद्रा (CBDC) अर्थात् डिजिटल रुपैयाँ जारी गर्ने सम्भावनाबारे अध्ययन तथा प्राविधिक तयारी अघि बढाएको छ। राष्ट्र बैंकले थोक कारोबारका लागि CBDC को प्रारम्भिक प्रोटोटाइप विकास गरी परीक्षणको प्रक्रिया अघि बढाएको छ। साथै, १३ अगस्ट २०२६ मा CBDC सम्बन्धी परामर्श कार्यशाला आयोजना गरी ब्लकचेन, टोकनाइजेसन, साइबर सुरक्षा र डिजिटल मुद्राको सम्भावित प्रयोगबारे छलफल गरेको थियो।
यसैगरी, राष्ट्र बैंकले नियामकीय स्यान्डबक्समार्फत नवीन वित्तीय प्रविधिको परीक्षणलाई प्रोत्साहन गर्ने व्यवस्था अघि बढाएको छ। यसले ओपन बैंकिङ, डिजिटल केवाईसी, स्मार्ट कन्ट्र्याक्ट र डिजिटल कर्जाजस्ता फिनटेक समाधानको परीक्षणका लागि बाटो खोलेको छ।
प्रतिक्रिया 0