काठमाडौं । विश्व बैंकिङ क्षेत्रमा वातावरणीय, सामाजिक तथा सुशासन (ईएसजी) र जलवायु रणनीतिलाई दिइँदै आएको प्राथमिकतामा परिवर्तन देखिन थालेको छ। यसैबीच, क्यानडाको सबैभन्दा ठूलो बैंक रोयल बैंक अफ क्यानडा (आरबीसी) ले जलवायु रणनीति, ईएसजी जोखिम तथा दिगोपनसम्बन्धी तीन वरिष्ठ पद हटाएको छ। बैंकले व्यापक संगठनात्मक पुनर्संरचनाअन्तर्गत जलवायु तथा दिगोपनसम्बन्धी जिम्मेवारीलाई नयाँ सार्वजनिक नीति समूह (पब्लिक पोलिसी ग्रुप) र वित्त विभागमा स्थानान्तरण गरेको हो।
रोयटर्सका अनुसार आरबीसीले जलवायु रणनीति, ईएसजी जोखिम तथा दिगोपन रणनीति र कार्यसम्पादन हेर्ने उपाध्यक्षस्तरका तीन पद हटाएको हो। यसबारे जानकारी भएका तीन स्रोतले पद कटौती भएको बताएका छन्। बैंकले जलवायुसम्बन्धी टोलीलाई नयाँ सार्वजनिक नीति समूहमा स्थानान्तरण गरेको छ भने दिगोपनसम्बन्धी प्रतिवेदन तयार गर्ने जिम्मेवारी वित्त विभागलाई दिएको छ। भूमिकामा दोहोरोपन हटाउने क्रममा करिब आधा दर्जन कर्मचारीको पदसमेत कटौती भएको बैंकले जनाएको छ।
सार्वजनिक नीति समूहले के काम गर्छ ?
आरबीसीले नयाँ स्थापना गरेको सार्वजनिक नीति समूहले बैंकका लागि महत्वपूर्ण नीतिगत तथा नियामकीय विषयहरू हेर्नेछ। बैंकका अनुसार यस समूहको मुख्य प्राथमिकतामा जलवायु परिवर्तन र दिगोपन रहनेछन्। यसका अतिरिक्त कृत्रिम बौद्धिकता (एआई), भुक्तानी प्रणाली, ठगी तथा स्क्याम नियन्त्रणजस्ता विषय पनि यस समूहको कार्यक्षेत्रमा समेटिएका छन्।
यस समूहले जलवायु तथा दिगोपनसम्बन्धी विषयमा बैंकको नीतिगत भूमिका बलियो बनाउने, वित्तीय क्षेत्रसँग सम्बन्धित नयाँ प्रविधि तथा नीतिगत परिवर्तनका विषय हेर्ने र ठगी नियन्त्रण तथा भुक्तानी प्रणालीसँग सम्बन्धित मुद्दामा बैंकको धारणा प्रस्तुत गर्ने जिम्मेवारी पाउनेछ। सार्वजनिक नीतिसम्बन्धी समूहको अवधारणा बैंकका लागि महत्वपूर्ण नीतिगत विषयलाई एकीकृत रूपमा व्यवस्थापन गर्नु हो।
यस समूहको नेतृत्व एमिली हेडले गर्नेछिन्। उनलाई सार्वजनिक नीतिसम्बन्धी उपाध्यक्ष नियुक्त गरिएको छ। उनी यसअघि बैंकको कानुनी तथा सार्वजनिक नीतिसम्बन्धी जिम्मेवारीमा कार्यरत थिइन्। बैंकका प्रवक्ता एन्ड्र्यु ब्लकका अनुसार जलवायु टोलीलाई नयाँ समूहमा स्थानान्तरण गर्नुको उद्देश्य महत्वपूर्ण नीतिगत विषयमा बैंकको प्रभावकारी उपस्थिति र भूमिका बलियो बनाउनु हो।
दिगो वित्तको लक्ष्यबाट पनि पछि हटेको आरबीसी
आरबीसीको पछिल्लो निर्णयलाई बैंकले यसअघि गरेका जलवायु तथा दिगो वित्तसम्बन्धी निर्णयसँग जोडेर पनि हेरिएको छ। बैंकले सन् २०२५ मा सोही वर्षसम्म ५०० अर्ब क्यानेडियन डलर बराबरको दिगो वित्त परिचालन गर्ने लक्ष्य त्यागेको थियो। क्यानडाको प्रतिस्पर्धा ऐनमा भएको परिवर्तनका कारण वातावरणीय तथा दिगोपनसम्बन्धी विवरण सार्वजनिक गर्न कठिन भएको बैंकको भनाइ थियो।
त्यस्तै, आरबीसीले सन् २०२५ मा नेट–जिरो बैंकिङ एलायन्स (एनजेडबीए) बाट बाहिरिने निर्णय गरेको थियो। उक्त अन्तर्राष्ट्रिय गठबन्धनले बैंक तथा वित्तीय संस्थालाई कर्जा र लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जन घटाउँदै सन् २०५० सम्म नेट–जिरो अर्थतन्त्र निर्माणमा योगदान पुर्याउन प्रोत्साहित गर्दै आएको थियो।
ईएसजी प्रतिबद्धता कि संस्थागत संरचनामा परिवर्तन ?
आरबीसीको पछिल्लो कदमले बैंकिङ क्षेत्रमा ईएसजीको प्राथमिकता र व्यवस्थापनको स्वरूपबारे नयाँ बहस सिर्जना गरेको छ। पछिल्ला वर्षमा उत्तर अमेरिकाका केही ठूला बैंकले जलवायु तथा दिगोपनसम्बन्धी छुट्टै विभागको संरचना परिवर्तन गर्ने, वरिष्ठ पदाधिकारीको जिम्मेवारी अन्य विभागमा गाभ्ने र जलवायु लक्ष्य पुनरावलोकन गर्ने निर्णय गरेका छन्।
यद्यपि, छुट्टै ईएसजी पद वा विभाग हटाउनुको अर्थ बैंकले वातावरणीय तथा सामाजिक प्रतिबद्धता पूर्ण रूपमा त्यागेको भन्ने होइन। कतिपय बैंकले जलवायु जोखिम, दिगो वित्त र वातावरणीय लक्ष्यलाई छुट्टै विभागको सट्टा कर्जा प्रवाह, जोखिम व्यवस्थापन, वित्त तथा व्यावसायिक रणनीतिमा समावेश गर्ने अभ्याससमेत गरिरहेका छन्।
आरबीसीले पनि आफ्नो जलवायु प्रतिबद्धता कायमै रहेको जनाएको छ। बैंकका अनुसार विभिन्न व्यावसायिक विभागमा रहेका टोलीले जलवायु लक्ष्य कार्यान्वयन तथा ग्राहकलाई न्यून कार्बन अर्थतन्त्रतर्फको रूपान्तरणमा सहयोग गर्ने काम जारी राख्नेछन्। बैंकले जलवायुसम्बन्धी टोली विस्तार भइरहेको दाबीसमेत गरेको छ।
यसले विश्व बैंकिङ क्षेत्रमा ईएसजीको महत्व समाप्त हुँदै गएको भन्दा पनि यसको संस्थागत संरचना, कार्यान्वयनको तरिका र व्यावसायिक प्राथमिकतामा परिवर्तन भइरहेको संकेत गर्छ। जलवायु जोखिम, दिगो वित्त र वातावरणीय उत्तरदायित्वलाई बैंकिङ व्यवसायको मूल रणनीतिमा कसरी समावेश गर्ने भन्ने विषय आगामी दिनमा अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रका लागि महत्वपूर्ण रहने देखिन्छ।
प्रतिक्रिया 0