डलरको प्रभुत्व घटाउने रणनीति
काठमाडौं । युरोपेली केन्द्रीय बैंक (ईसीबी) ले अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा युरोको प्रयोग र प्रभाव विस्तार गर्न विदेशी मुलुकका केन्द्रीय बैंकलाई युरो तरलता सुविधा उपलब्ध गराउने पहललाई प्राथमिकता दिएको छ। ईसीबीका प्रमुख अर्थशास्त्री फिलिप लेनका अनुसार, बैंकले विस्तार गरेको युरो तरलता सुविधाप्रति पछिल्लो छ महिनामा ३० भन्दा बढी केन्द्रीय बैंकले चासो देखाएका छन्।
चीनको सांघाईमा बुधबार आयोजित ‘मौद्रिक प्रणाली: डलरभन्दा पर’ विषयक कार्यक्रममा बोल्दै लेनले अन्तर्राष्ट्रिय तरलता सुविधा विस्तारले युरोप्रतिको विश्वास बढाउने, विदेशी बजारमा यसको प्रयोगलाई सहज बनाउने र युरोपेली केन्द्रीय बैंकको मौद्रिक नीतिको प्रभावलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सहयोग गर्ने बताएका हुन्। उक्त कार्यक्रम वार्षिक बन्ड सम्मेलनसँग सम्बन्धित थियो।
उनका अनुसार, विदेशी केन्द्रीय बैंकलाई आवश्यक परेको समयमा युरोमा तरलता उपलब्ध गराउन सकिएमा अन्तर्राष्ट्रिय कारोबारमा युरोको प्रयोग बढ्न सक्छ। यसले विदेशी मुद्रा उपलब्धतासम्बन्धी जोखिम घटाउनुका साथै वित्तीय बजारमा विश्वास कायम राख्न मद्दत गर्नेछ।
ईसीबीले विस्तार गरेको Eurosystem Repo Facility for Central Banks (EUREP) अन्तर्गत युरो क्षेत्रबाहिरका केन्द्रीय बैंकले उच्च गुणस्तरका युरोमा आधारित धितोपत्रको सुरक्षणमा युरो ऋण लिन सक्छन्। यस सुविधाले विदेशी केन्द्रीय बैंकलाई युरोको अभाव भएको अवस्थामा तरलता व्यवस्थापन गर्न सहयोग पुर्याउने लक्ष्य राखेको छ।
ईसीबीको नयाँ व्यवस्थाअनुसार, आवश्यक प्रक्रिया पूरा गरेका प्रत्येक विदेशी केन्द्रीय बैंकले अधिकतम ५० अर्ब युरोसम्मको तरलता सुविधा प्राप्त गर्न सक्नेछन्। यस्तो ऋण सामान्यतया एक दिनदेखि एक सातासम्मका लागि उपलब्ध हुनेछ र आवश्यकताअनुसार अवधि बढाउन सकिने व्यवस्था छ। योग्य केन्द्रीय बैंकले सन् २०२६ को चौथो त्रैमासिकदेखि सुविधा उपयोग गर्न सक्ने ईसीबीले जनाएको छ।
यो सुविधा संकटको समयमा मात्र उपयोग गर्ने सुरक्षा व्यवस्थाका रूपमा परिकल्पना गरिएको हो। तर, आवश्यक परेको अवस्थामा तरलता उपलब्ध हुने विश्वासले नै वित्तीय बजारमा उत्पन्न हुन सक्ने दबाब कम गर्न सहयोग पुर्याउन सक्छ।
युरोपेली ऋणपत्र बजारलाई पनि लाभ पुग्ने अपेक्षा
ईसीबीले युरो तरलता सुविधाको विस्तारले युरोमा जारी हुने ऋणपत्रको बजारलाई थप बलियो बनाउन सक्ने अपेक्षा गरेको छ। विदेशी केन्द्रीय बैंक तथा आधिकारिक विदेशी मुद्रा सञ्चिति व्यवस्थापकहरूले युरोमा आधारित ऋणपत्र खरिद बढाउन सक्ने भएकाले युरोपेली वित्तीय बजारमा लगानीको माग विस्तार हुन सक्ने लेनको भनाइ छ।
यसबाट युरोपेली संघका सदस्य मुलुकका सरकारी ऋणपत्रका साथै युरोमा जारी गरिएका अन्य योग्य ऋणपत्रको बजारमा समेत सकारात्मक प्रभाव पर्न सक्छ। विशेषगरी, अहिले तुलनात्मक रूपमा कम तरलता भएका ऋणपत्रको बजारलाई थप व्यवस्थित बनाउन यस्तो सुविधाले सहयोग पुर्याउने ईसीबीको अपेक्षा छ।
अमेरिकी डलरको प्रभुत्वबीच युरोको प्रभाव बढाउने रणनीति
अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा अमेरिकी डलरको दीर्घकालीन प्रभुत्वबारे बहस भइरहेका बेला ईसीबीले युरोको अन्तर्राष्ट्रिय भूमिका विस्तार गर्ने प्रयासलाई तीव्रता दिएको हो। अमेरिकी आर्थिक नीतिमा देखिने अनिश्चितताले विश्वका नीति निर्मातामाझ अन्तर्राष्ट्रिय मौद्रिक प्रणाली र प्रमुख मुद्राहरूमा निर्भरताबारे थप बहस सिर्जना गरेको छ।
लेनका अनुसार, विश्वव्यापी कारोबार तथा वित्तीय गतिविधिमा युरोको प्रयोग बढ्दा ईसीबीको मौद्रिक नीतिले अन्तर्राष्ट्रिय बजारमा पार्ने प्रभाव पनि विस्तार हुनेछ। यसले युरो क्षेत्रभित्र मुद्रास्फीति नियन्त्रण गर्ने ईसीबीको लक्ष्य हासिल गर्नसमेत सहयोग गर्न सक्छ।
मुद्रा विनिमय सुविधामा सावधानी आवश्यक
ईसीबीकी अध्यक्ष क्रिस्टिन लागार्दले पनि विभिन्न मुलुकका केन्द्रीय बैंकसँगको मुद्रा विनिमय सुविधा अर्थात् स्वाप लाइन सञ्जालको समीक्षा भइरहेको बताएकी छन्। यस्तो व्यवस्थामार्फत सम्बन्धित केन्द्रीय बैंकहरूले आफ्नै मुद्रा साटेर युरो प्राप्त गर्न सक्छन्।
तर, लेनले सबै मुलुकलाई स्वाप लाइन उपलब्ध गराउनु उपयुक्त नहुने स्पष्ट पारेका छन्। युरो क्षेत्रसँग बलियो वित्तीय सम्बन्ध भएका र युरोमा लिएको दायित्व भुक्तानी गर्न पर्याप्त क्षमता भएका मुलुकका केन्द्रीय बैंकलाई मात्र यस्तो सुविधा उपलब्ध गराउनुपर्ने उनको धारणा छ।
युरोमा ऋण लिने अवसर बढ्दा वित्तीय कारोबार सहज हुन सक्ने भए पनि छोटो अवधिको ऋण दायित्व अत्यधिक बढेमा भविष्यमा तरलता संकटको जोखिम पनि उत्पन्न हुन सक्ने भएकाले त्यसको सावधानीपूर्वक निगरानी आवश्यक रहेको ईसीबीले जनाएको छ।
-Reuters
प्रतिक्रिया 0