युआन बलियो बनेपछि डलर निक्षेपमा ब्याज बढाउँदै चिनियाँ बैंक

डलर निक्षेपको ब्याज ४.५ प्रतिशतसम्म

सोमबार, २३ कार्तिक २०८३, दिउँसो २:१७


काठमाडौं । चिनियाँ मुद्राको मूल्यमा भइरहेको तीव्र वृद्धिलाई नियन्त्रण गर्दै विदेशी मुद्रा सञ्चिति कायम राख्ने प्रयासस्वरूप चीनका विभिन्न बैंकले अमेरिकी डलरमा राखिने निक्षेपको ब्याजदर उल्लेख्य रूपमा बढाएका छन्। पछिल्लो समय सरकारी स्वामित्वका, संयुक्त लगानीका तथा विदेशी बैंकसहित ६ भन्दा बढी बैंकले डलर निक्षेपको ब्याजदर सन् २०२३ यताकै उच्च स्तरमा पुर्‍याएका छन्। केही बैंकले वार्षिक ४ प्रतिशतभन्दा बढी ब्याजदर प्रस्ताव गरेका छन् भने एउटा सरकारी बैंकको ब्याजदर अक्टोबरको अन्त्यमा ४.५ प्रतिशतसम्म पुगेको रोयटर्सले बैंकिङ क्षेत्रका स्रोतहरूलाई उद्धृत गर्दै जनाएको छ।

चिनियाँ बैंकहरूको यो कदमले बचतकर्ता तथा निर्यातकर्तालाई आफ्नो अमेरिकी डलर तत्काल चिनियाँ युआनमा रूपान्तरण नगरी डलरमै निक्षेप राख्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ। यसले बजारमा डलर बिक्रीको दबाब घटाउँदै युआनको थप मूल्यवृद्धि नियन्त्रण गर्न सहयोग पुर्‍याउन सक्छ। पछिल्लो समय अमेरिकी डलरको तुलनामा युआन करिब १० प्रतिशतले बलियो भएको छ। गत साता युआन प्रतिडलर ६.६४४९ को स्तरमा पुगेको थियो, जुन चार वर्षयताकै बलियो स्तर हो।

चीनमा डलर र युआनको निक्षेप ब्याजदरबीचको अन्तर पनि उल्लेखनीय बनेको छ। ठूला सरकारी बैंकहरूमा युआन निक्षेपको ब्याजदर घटेर करिब ०.९५ प्रतिशतमा सीमित भएको छ। यसको विपरीत केही बैंकले ५० हजार अमेरिकी डलरभन्दा बढी मौज्दातमा एक वर्षे निक्षेपका लागि ४ प्रतिशतभन्दा बढी ब्याजदर दिन थालेका छन्। एउटा सरकारी बैंकले दुई साताभित्रै दुई पटक डलर निक्षेपको ब्याजदर बढाएको स्रोतले जनाएको छ। केही बैंकले योग्य ग्राहकका लागि अमेरिकी सेक्योर्ड ओभरनाइट फाइनान्सिङ रेट (SOFR) अर्थात् हाल ३.९७ प्रतिशत रहेको दरसँग मिल्ने ब्याजदरसमेत प्रस्ताव गरेका छन्।

चिनियाँ बैंकहरूले डलर निक्षेपको ब्याजदर बढाउनुको पछाडि निर्यात क्षेत्रको दबाब पनि प्रमुख कारण मानिएको छ। युआन बलियो हुँदा चिनियाँ निर्यातकर्ताले विदेशमा सामान बिक्री गरेर प्राप्त गर्ने डलरलाई युआनमा रूपान्तरण गर्दा तुलनात्मक रूपमा कम युआन प्राप्त गर्छन्। यसले उनीहरूको आम्दानी तथा नाफामा दबाब सिर्जना गर्छ। डलर निक्षेपमा बढी ब्याज उपलब्ध गराउँदा निर्यातकर्ताले आफ्नो डलर मौज्दात बैंकमै राख्न सक्ने र तत्काल युआनमा रूपान्तरण गर्ने प्रवृत्ति घट्न सक्ने विश्लेषण गरिएको छ।

नेदरल्यान्ड्सस्थित अन्तर्राष्ट्रिय बैंकिङ समूह आईएनजी का ग्रेटर चाइना प्रमुख अर्थशास्त्री लिन सोङका अनुसार डलर निक्षेपमा उच्च ब्याजदर दिनुको उद्देश्य बैंकमा रहेको डलर निक्षेप कायम राख्नु र विदेशी मुद्रा वित्तीय स्रोतलाई स्थिर बनाउनु हुन सक्छ। यसले निर्यातकर्तालाई संचित डलर युआनमा रूपान्तरण गर्न निरुत्साहित गर्दै युआनमाथिको मूल्यवृद्धिको दबाब केही कम गर्न सक्छ।

यसैबीच, चीनको विदेशी मुद्रा निक्षेप सेप्टेम्बरको अन्त्यसम्ममा कीर्तिमानी १.२ ट्रिलियन अमेरिकी डलर पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.७ प्रतिशत बढी हो। निरन्तरको व्यापार बचतले युआनलाई बलियो बनाइरहेको अवस्थामा चीनका बैंकहरूको पछिल्लो कदमलाई विदेशी मुद्रा व्यवस्थापन तथा विनिमय दरमा स्थिरता कायम गर्ने प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया 0