लगानी र रोजगारी सिर्जनामा जोड
काठमाडौं । विकासशील राष्ट्रहरूलाई थप वित्तीय सहायता उपलब्ध गराउने तथा विकास परियोजनाको प्रभावकारिता बढाउने विषयमा बहुपक्षीय विकास बैंक (एमडीबी) समूहका प्रमुखहरूबीच छलफल भएको छ। समूहका प्रमुखहरूको बैठक पहिलोपटक फिलिपिन्समा आयोजना भएको हो।
एसियाली विकास बैंक (एडीबी) को मुख्यालय मनिलामा अक्टोबर १७, २०२६ मा सम्पन्न बैठक एडीबीको आयोजनामा भएको थियो। सन् २०२६ का लागि एमडीबी समूहको अध्यक्षता गरिरहेको एडीबीले आयोजना गरेको बैठकमा विश्वव्यापी आर्थिक अनिश्चितता, द्वन्द्व, बढ्दो सार्वजनिक ऋण, मुद्रास्फीति र प्राकृतिक विपद्का कारण विकासशील राष्ट्रहरूले सामना गरिरहेका चुनौतीबारे छलफल गरिएको थियो।
बैठकमा सहभागी बैंकका प्रमुखहरूले चुनौतीपूर्ण आर्थिक परिस्थितिका बीच सदस्य राष्ट्रहरूलाई समयमै वित्तीय तथा विश्लेषणात्मक सहयोग उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएका छन्। विशेषगरी जोखिममा रहेका समुदायको संरक्षण, रोजगारी सिर्जना तथा दीर्घकालीन र उत्थानशील आर्थिक वृद्धिका लागि लगानी कायम राख्न सहकार्य आवश्यक रहेको उनीहरूको निष्कर्ष छ।
एडीबीका अध्यक्ष तथा एमडीबी प्रमुखहरूको समूहका सन् २०२६ का अध्यक्ष मासातो कान्डाले साझा प्रतिबद्धतालाई व्यावहारिक कार्यमा रूपान्तरण गर्दै सदस्य राष्ट्रहरूको विकास उपलब्धि जोगाउन, लगानी आकर्षित गर्न र अर्थतन्त्रलाई थप उत्थानशील बनाउन बैठकले अवसर प्रदान गरेको बताएका छन्।
बैठकमा निजी क्षेत्रको पुँजी परिचालन बढाउने विषयमा भएका प्रगतिलाई पनि स्वागत गरिएको छ। विकासका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सार्वजनिक तथा निजी क्षेत्रबीच सहकार्य विस्तार गर्नुका साथै बहुपक्षीय विकास बैंकहरूबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको छ।
त्यसैगरी, रोजगारी, प्रकृति संरक्षण, जलवायु परिवर्तन, जलस्रोत, महत्त्वपूर्ण खनिज तथा कृत्रिम बौद्धिकता (एआई) लगायतका साझा विकास प्राथमिकतामा संयुक्त रूपमा काम गर्ने विषयलाई अघि बढाइएको छ। बैंकहरूबीचको कार्यप्रणालीलाई थप प्रभावकारी बनाउँदै दोहोरो काम घटाउने र उपलब्ध स्रोतबाट ठूलो प्रभाव सिर्जना गर्ने प्रयासलाई समेत महत्त्व दिइएको छ।
एमडीबी समूहमा अफ्रिकी विकास बैंक समूह, एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक, काउन्सिल अफ युरोप विकास बैंक, युरोपेली पुनर्निर्माण तथा विकास बैंक, युरोपेली लगानी बैंक समूह, अन्तर-अमेरिकी विकास बैंक समूह, इस्लामिक विकास बैंक, नयाँ विकास बैंक र विश्व बैंक समूह सहभागी छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि समूहका छलफलमा सहभागिता जनाउँदै आएको छ।
समूहको अध्यक्षता सन् २०२६ मा एडीबीले गरिरहेको छ भने आगामी डिसेम्बरमा अध्यक्षताको जिम्मेवारी युरोपेली लगानी बैंक समूहलाई हस्तान्तरण गरिनेछ।
प्रतिक्रिया 0