बैंक अफ जापानले बढायो ब्याजदर

मुद्रास्फीतिको दबाबले ब्याजदर ३१ वर्षयताकै उच्च बिन्दुमा

शुक्रबार, २ आश्विन २०८३, दिउँसो १२:२९


टोकियो । जापानको केन्द्रीय बैंक (बैंक अफ जापान) ले शुक्रबार आफ्नो प्रमुख नीतिगत ब्याजदर २५ आधार अंकले बढाएर १.२५ प्रतिशत पुर्‍याएको छ। यो दर सन् १९९५ यताकै उच्च स्तर हो। पछिल्लो निर्णयसँगै जापानको केन्द्रीय बैंकले लामो समयदेखि कायम राख्दै आएको अत्यन्त खुकुलो मौद्रिक नीतिबाट क्रमशः बाहिरिँदै ब्याजदर सामान्यीकरणलाई निरन्तरता दिएको छ।

दुई दिनसम्म चलेको मौद्रिक नीति बैठकपछि बैंक अफ जापानले १ प्रतिशतबाट बढाएर १.२५ प्रतिशत पुर्‍याउने निर्णय गरेको हो। निर्णय ७–२ मतबाट पारित भएको थियो। दुई जना बोर्ड सदस्यले भने ब्याजदर बढाउने निर्णयको विपक्षमा मतदान गरेका थिए।

बैंक अफ जापानको पछिल्लो निर्णयको मुख्य कारणका रूपमा जापानमा कायम मूल्यवृद्धिको दबाब, कमजोर येन र ज्याला तथा उपभोक्ता मूल्यमा देखिएको वृद्धि उल्लेख गरेको छ। बैंकले अन्तर्निहित मुद्रास्फीति आफ्नो २ प्रतिशतको लक्ष्यतर्फ नजिकिँदै गएको र आगामी दिनमा लक्ष्यभन्दा माथि जान सक्ने जोखिम रहेको जनाएको छ।

जापानी येनको कमजोरी पनि केन्द्रीय बैंकका लागि महत्वपूर्ण चुनौती बनेको छ। ब्याजदर वृद्धिको घोषणा भए पनि येन अपेक्षित रूपमा बलियो हुन सकेन र अमेरिकी डलरसँगको विनिमयदरमा येन कमजोर हुँदै एक डलर बराबर करिब १५७ येन आसपास पुगेको रेकर्ड गरिएको छ। यसले जापानमा आयातित वस्तु तथा ऊर्जा महँगो बनाउने जोखिम कायम राखेको छ।

पछिल्लो निर्णय जापानको मौद्रिक नीतिमा महत्वपूर्ण मोडका रूपमा आएको छ। बीओजेले यसअघि तुलनात्मक रूपमा सावधानीपूर्वक ब्याजदर बढाउँदै आएको थियो। तर यसपटकको वृद्धिसँगै तीन महिनाभित्र दोस्रोपटक दर बढाइएको छ। रोयटर्सका अनुसार बीओजेले यसअघि करिब अर्धवार्षिक अन्तरमा ब्याजदर बढाउँदै आएकोमा पछिल्लो निर्णयले नीतिगत कडाइको गति बढेको देखाएको छ।

यसबीच अमेरिकी प्रशासनबाट जापानको कमजोर येन र मुद्रा बजारका विषयमा दबाब परेको चर्चा पनि हुँदै आएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले जापानको मौद्रिक नीति र विनिमयदरसम्बन्धी विषयमा सार्वजनिक रूपमा चासो व्यक्त गरेका छन्। यद्यपि ब्याजदर वृद्धिको निर्णयलाई केवल अमेरिकी दबाबको परिणामका रूपमा व्याख्या गर्नु उचित हुँदैन; आफ्नो निर्णयमा जापानको मुद्रास्फीति, ज्याला, विनिमयदर र आर्थिक अवस्थालाई प्रमुख आधार बनाएको ब्लुमबर्गले जनाएको छ।

बैंक अफ जापानले जापानी अर्थतन्त्र मध्यम गतिमा सुधार भइरहेको र वित्तीय अवस्था अझै तुलनात्मक रूपमा सहज रहेको जनाएको छ। साथै, विश्वव्यापी ऊर्जा मूल्य, मध्यपूर्वको तनाव, एआईसँग सम्बन्धित माग र विदेशी विनिमयदरमा हुने उतारचढावले जापानको मूल्य तथा आर्थिक गतिविधिमा पार्न सक्ने प्रभावप्रति पनि बैंकले सतर्कता अपनाउने संकेत दिएको छ।

ब्याजदर वृद्धिले जापानमा ऋणको लागत बढाउन सक्ने भए पनि यसको उद्देश्य मुद्रास्फीतिलाई नियन्त्रणमा राख्दै मूल्य स्थिरता कायम गर्नु हो। आगामी दिनमा आर्थिक तथा मूल्यसम्बन्धी तथ्यांक र वित्तीय अवस्थाको मूल्यांकन गर्दै ब्याजदर नीतिमा आवश्यक समायोजन गर्ने बताएको छ।

यस निर्णयपछि अब बजारको ध्यान गभर्नर काजुओ उएदाको पत्रकार सम्मेलनतर्फ केन्द्रित भएको छ। लगानीकर्ताले आगामी महिनामा थप ब्याजदर वृद्धि हुने सम्भावनाबारे बैंकको संकेत खोजिरहेका छन्।

प्रतिक्रिया 0