४ लाख ३६ हजार रुपैयाँ कम पर्दा खुल्यो रहस्य
भारतको उत्तर प्रदेशस्थित पञ्जाब नेसनल बैंक (पीएनबी) को सहारनपुरस्थित करेन्सी चेस्टमा करिब १७ करोड भारतीय रुपैयाँ मूल्यका नक्कली नोट भेटिएपछि घटनाको अनुसन्धान गर्न विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको छ। बैंकको सुरक्षित नगद भण्डारण केन्द्रमै ठूलो परिमाणमा नक्कली नोट भेटिएपछि घटनाले भारतीय बैंकिङ प्रणालीको नगद व्यवस्थापन र आन्तरिक नियन्त्रणमाथि प्रश्न उठाएको छ।
घटना भने करिब ४.३६ लाख रुपैयाँको नगद कमीबाट बाहिर आएको हो। सहारनपुरको घण्टाघरस्थित पीएनबीबाट भारतीय रिजर्भ बैंक (आरबीआई) को जयपुरस्थित करेन्सी चेस्टमा पठाइएको नगदमा कमी देखिएपछि बैंकले आन्तरिक जाँच सुरु गरेको थियो। त्यसपछि अगस्ट ९ बाट सहारनपुरस्थित करेन्सी चेस्टको विस्तृत अडिट थालिएको थियो।
अडिटका क्रममा सुरुमा ५०० रुपैयाँ दरका नोटका १४८ बन्डल फेला परेका थिए। प्रत्येक बन्डलमा १ हजार नोट रहेको र ती नोटको अंकित मूल्य करिब ७ करोड ४० लाख रुपैयाँ रहेको प्रारम्भिक परीक्षणबाट देखिएको थियो। तर नगदको गणना तथा प्रमाणीकरण जारी रहँदा नक्कली नोटको अनुमानित रकम बढेर करिब १७ करोड रुपैयाँ पुगेको बताइएको छ।
प्रहरीले नक्कली नोट करेन्सी चेस्टभित्र कसरी पुग्यो र त्यसको बदलामा वास्तविक नोट बाहिर निकालिएको हो कि होइन भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। प्रारम्भिक रूपमा बैंकभित्रैबाट वास्तविक नोट निकालेर त्यसको स्थानमा नक्कली नोट राखिएको हुन सक्ने आशंका गरिएको छ। हिन्दुस्तान टाइम्सका अनुसार करेन्सी चेस्टभित्र काम गर्ने पार्टटाइम हाउसकिपर विशाल कुमारले नगदका बन्डलबाट नोट निकालिरहेको दृश्य सीसीटीभी फुटेजमा देखिएको छ। तर उनले एक्लै यस्तो काम गरे वा अन्य व्यक्तिको निर्देशनमा गरे भन्ने कुरा अनुसन्धानबाट खुल्न बाँकी छ।
घटनामा पीएनबीका तीन अधिकारीको भूमिकामाथि प्रश्न उठेको छ। उनीहरूमा पीएनबीको डिभिजनल कार्यालयका वरिष्ठ प्रबन्धक रवि कुमार कन्साय, सोफिया मार्केटस्थित करेन्सी चेस्टका प्रबन्धक सुशील कुमार शर्मा र हरियाणाको यमुनानगर–जगाधरीस्थित खेरा बजार करेन्सी चेस्टका प्रबन्धक अमित कुमार छन्। पार्टटाइम हाउसकिपर विशाल कुमारलाई पनि उजुरीमा नाम उल्लेख गरिएको छ। बैंकले तीन अधिकारीलाई निलम्बन गरिसकेको छ।
पीएनबीका मेरठका मुख्य प्रबन्धक तथा नोडल अधिकारी अरुण कुमार चौबेले दिएको उजुरीका आधारमा चार जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। उनीहरूमाथि भारतीय न्याय संहिता (बीएनएस) का मुद्रा जालसाजी, आपराधिक विश्वासघात र ठगीसम्बन्धी धाराअन्तर्गत अनुसन्धान अघि बढाइएको छ।
घटनाको अनुसन्धान अब सहारनपुरमा मात्र सीमित छैन। उत्तर प्रदेश प्रहरीले छिमेकी जिल्लाका साथै हरियाणा र उत्तराखण्डसम्म अनुसन्धान विस्तार गरेको छ। एसआईटीले नक्कली नोटको स्रोत, ती नोट करेन्सी चेस्टमा कसरी पुगे, वास्तविक नोट कहिले र कसरी बाहिर निकालिए तथा घटनामा कुनै संगठित समूहको संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान गर्नेछ।
यसैबीच पीएनबीले विभागीय छानबिन अघि बढाएको छ भने आरबीआईले पनि छुट्टै अनुसन्धान गरिरहेको छ। करेन्सी चेस्ट बैंकिङ प्रणालीमा ठूलो परिमाणको नगद राख्ने र आरबीआईसँग नगद व्यवस्थापन गर्ने संवेदनशील संरचना भएकाले त्यहाँ करोडौं रुपैयाँ बराबरका नक्कली नोट भेटिनुले बैंकको नगद नियन्त्रण, पहुँच व्यवस्थापन, निगरानी तथा नियमित मिलान प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ।
अनुसन्धान र नगद प्रमाणीकरण अझै जारी रहेकाले घटनामा संलग्न व्यक्तिको भूमिका तथा वास्तविक वित्तीय क्षतिको अन्तिम विवरण अनुसन्धान पूरा भएपछि मात्र स्पष्ट हुने भारतीय संचारमाध्यमहरुले जनाएका छन ।
प्रतिक्रिया 0