एडीबी अध्यक्षमा कान्दा पुनः अनुमोदित

मंगलबार, १६ भदौ २०८३, बिहान ९:४३

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मसातो कान्दाले बैंकको अध्यक्षका रूपमा दोस्रो कार्यकालका लागि एडीबीको बोर्ड अफ गभर्नर्सबाट सर्वसम्मत समर्थन प्राप्त गरेका छन्।

एडीबीका अनुसार बोर्ड अफ गभर्नर्सले कान्दालाई दोस्रो कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको हो। उनको ५ बर्षे नयाँ कार्यकाल २४ नोभेम्बर २०२६ देखि सुरु हुनेछ। 

दोस्रो कार्यकालका लागि सर्वसम्मत समर्थन पाएसँगै कान्दाले एडीबीको नेतृत्वमा थप पाँच वर्ष काम गर्ने बाटो खुलेको छ। उनले एसिया तथा प्रशान्त क्षेत्रका विकासशील मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि एडीबीको वित्तीय तथा नीतिगत सहयोगलाई अघि बढाउने जिम्मेवारीलाई निरन्तरता दिनेछन्।

एडीबीले क्षेत्रीय आर्थिक विकाससँगै जलवायु परिवर्तन, दिगो पूर्वाधार, ऊर्जा, निजी क्षेत्रको लगानी तथा विकास वित्तलाई प्राथमिकतामा राख्दै आएको छ। कान्दाको दोस्रो कार्यकालमा पनि यी क्षेत्रलाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

कान्दा एडीबीको अध्यक्ष बन्नुअघि जापानको वित्त मन्त्रालयमा महत्वपूर्ण जिम्मेवारीमा रहेका थिए। उनी २८ फेब्रुअरी २०२५ देखि एडीबीको अध्यक्षका रूपमा कार्यरत छन्। उनी तत्कालीन अध्यक्ष मासात्सुगु असाकावाको बाँकी कार्यकाल पूरा गर्न नियुक्त भएका थिए। असाकावाले स्वास्थ्य कारण देखाउँदै पदबाट राजीनामा दिएपछि कान्दा आएका हुन्।

एडीबीको अध्यक्ष बैंकको बोर्ड अफ गभर्नर्सद्वारा निर्वाचित हुने व्यवस्था छ। दोस्रो कार्यकालका लागि सर्वसम्मत समर्थन पाएसँगै कान्दाले आगामी वर्षहरूमा बैंकको रणनीतिक दिशा र विकास प्राथमिकतामा नेतृत्व गर्नेछन्।

प्रतिक्रिया 0