राष्ट्र बैंकको आयोजनामा एसीयू बैठक काठमाडौंमा हुने

आइतबार, ४ आश्विन २०८३, बिहान ११:०३


काठमाडौंमा एसियन क्लियरिङ युनियन (एसीयू) को ५४औँ बोर्ड अफ डाइरेक्टर्स बैठक आयोजना हुने भएको छ। नेपाल राष्ट्र बैंकको आयोजनामा आगामी १८ नोभेम्बर २०२६ मा एसीयूको बोर्ड बैठक काठमाडौंमा हुने भएको हो।

एसीयूको बोर्ड अफ डाइरेक्टर्स बैठक प्रत्येक वर्ष आयोजना हुँदै आएको छ। बैठकमा एसीयूको काम तथा गतिविधिको प्रगति समीक्षा गरिनुका साथै सदस्य केन्द्रीय बैंकबीचको सहकार्य र आगामी कार्यदिशाबारे छलफल हुने गर्छ। स्थापित अभ्यासअनुसार प्रत्येक वर्ष एसीयूका सदस्य राष्ट्रमध्ये फरक–फरक मुलुकले बोर्ड बैठकको आतिथ्य गर्दै आएका छन्।

बोर्ड बैठकको एक दिनअघि १७ नोभेम्बर २०२६ मा स्ट्यान्डिङ टेक्निकल कमिटी (एसटीसी) को बैठक हुनेछ। एसटीसीले एसीयूका सदस्य केन्द्रीय बैंकबाट प्राप्त सुझाव तथा सिफारिसमाथि छलफल गर्नेछ। त्यसपछि एसटीसीबाट आएका सिफारिसलाई बोर्ड अफ डाइरेक्टर्स बैठकमा प्रस्तुत गरिनेछ।

काठमाडौंमा हुने एसीयू बैठकले सदस्य राष्ट्रबीचको क्षेत्रीय वित्तीय तथा भुक्तानी सहकार्यसँग सम्बन्धित विषयमा छलफल तथा अनुभव आदानप्रदानका लागि अवसर प्रदान गर्नेछ। नेपाल राष्ट्र बैंकको आतिथ्यमा आयोजना हुने बैठकले नेपालको वित्तीय क्षेत्रलाई क्षेत्रीयस्तरको वित्तीय सहकार्य र अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीसँग सम्बन्धित विषयमा छलफल गर्ने महत्वपूर्ण मञ्चसमेत प्रदान गर्नेछ।

प्रतिक्रिया 0