युरोपेली केन्द्रीय बैंकले फेरि बढायो ब्याजदर

बिहीबार, २५ भदौ २०८३, राति ८:३२

युरोपेली केन्द्रीय बैंक (ईसीबी) ले इरान युद्धका कारण ऊर्जा मूल्य बढेर मुद्रास्फीति तीव्र भएपछि यस वर्ष दोस्रोपटक ब्याजदर वृद्धि गरेको छ। बिहीबार निक्षेप ब्याजदरलाई २.२५ प्रतिशतबाट बढाएर २.५० प्रतिशत पुर्‍याएको हो। यो कदम युरो क्षेत्रको बढ्दो मुद्रास्फीति नियन्त्रण गर्दै मूल्य स्थिरता कायम गर्ने उद्देश्यले चालिएको हो। यस अघि जुन २०२६ मा ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएर २.२५% पुर्‍याएको थियो।

इरान युद्धका कारण तेल तथा प्राकृतिक ग्यासको मूल्यमा भएको वृद्धिले युरो क्षेत्रको मुद्रास्फीति गत महिना ३ प्रतिशतभन्दा माथि पुगेको छ, जुन २ प्रतिशतको लक्ष्यभन्दा उल्लेख्य रूपमा बढी हो। ऊर्जा मूल्य अझै बढ्न सक्ने जोखिम पनि औँल्याएको छ। विशेषगरी हर्मुज जलडमरूमध्य हुँदै हुने इन्धन आपूर्तिमा अवरोध र युद्ध लम्बिन सक्ने जोखिमले आगामी दिनमा तेल तथा ग्यासको मूल्यमा थप दबाब पर्न सक्ने देखिएको छ। 

ईसीबीले सन् २०२६ को मुद्रास्फीति औसत ३ प्रतिशत रहने प्रक्षेपण गरेको छ भने आर्थिक वृद्धिदरको अनुमान ०.९ प्रतिशत पुर्‍याएको छ। यद्यपि, खाद्य तथा इन्धनजस्ता अस्थिर मूल्यलाई हटाएर हेर्ने आधारभूत मुद्रास्फीति भने केही घटेको र ज्याला वृद्धिको गति पनि सुस्त हुँदै गएको जनाएको छ। यसले तत्कालै थप आक्रामक ब्याजदर वृद्धिको आवश्यकता कम गर्न सक्ने भए पनि ऊर्जा मूल्य र युद्धको अनिश्चितताका कारण आगामी मौद्रिक नीति निर्णय सावधानीपूर्वक गरिने संकेत ईसीबीले दिएको रोयटर्सले जनाएको छ। 

प्रतिक्रिया 0