फेड अध्यक्ष वार्शमाथि ब्याजदर बढाउने दबाब, ट्रम्पसँग टकरावको जोखिम

सोमबार, २९ भदौ २०८३, बिहान १०:४३

अमेरिकी फेडरल रिजर्भका अध्यक्ष केभिन वार्शमाथि ब्याजदर बढाउन वित्तीय बजारको दबाब तीव्र बनेको छ। अमेरिकामा महँगी फेडको २ प्रतिशत लक्ष्यभन्दा माथि कायम रहनु, तेलको मूल्य बढ्नु र अर्थतन्त्र तथा रोजगारीमा देखिएको मजबुतीका कारण लगानीकर्ताले फेडबाट थप कडा मौद्रिक नीति अपेक्षा गर्न थालेका हुन्। पछिल्लो समय बजारले आगामी फेड बैठकमा ०.२५ प्रतिशत बिन्दुले ब्याजदर बढ्ने सम्भावनालाई उच्च रूपमा मूल्यांकन गरिरहेको ब्लुमबर्गले जनाएको छ। 

अगस्टमा अमेरिकी उपभोक्ता मूल्य सूचकांक (CPI) वार्षिक रूपमा ३.४ प्रतिशत बढेको छ, जुन फेडको २ प्रतिशत लक्ष्यभन्दा निकै माथि हो। यहीबीच अगस्टमा अमेरिकी अर्थतन्त्रले अपेक्षाभन्दा बलियो १ लाख ६२ हजार रोजगारी थपेको तथ्यांकले पनि अर्थतन्त्रमा ब्याजदर बढाउँदा तत्काल ठूलो मन्दी आउने जोखिम कम रहेको संकेत गरेको छ। महँगी नियन्त्रणमा पर्याप्त प्रगति नभए फेडले थप कदम चाल्नुपर्ने संकेत वार्शले यसअघि नै दिएका छन्। 

तर ब्याजदर बढाउने कदम राष्ट्रपति ट्रम्पको चाहनाविपरीत हुनेछ। ट्रम्पले अमेरिकी अर्थतन्त्रलाई सस्तो ऋण र न्यून ब्याजदर आवश्यक रहेको भन्दै फेडलाई दर घटाउन निरन्तर दबाब दिँदै आएका छन्। यस्तो अवस्थामा वार्शले महँगी नियन्त्रणलाई प्राथमिकता दिँदै ब्याजदर बढाएमा उनी राष्ट्रपति ट्रम्पसँग प्रत्यक्ष नीतिगत टकरावमा पुग्न सक्छन्। यद्यपि फेडको मौद्रिक नीति निर्णय राजनीतिक दबाबभन्दा आर्थिक तथ्यांकमा आधारित हुनुपर्ने र केन्द्रीय बैंकको स्वतन्त्रता कायम रहनुपर्ने विषयलाई अहिले बजारले विशेष रूपमा हेरिरहेको छ। 

ब्याजदर बढेमा अमेरिकी डलर, ट्रेजरी बन्डको प्रतिफल, सेयर बजार तथा विश्वभरका ऋण लागतमा असर पर्न सक्छ। विशेषगरी अमेरिकी दीर्घकालीन ब्याजदर बढ्दा उदीयमान अर्थतन्त्रमा पुँजी प्रवाह, मुद्रा विनिमय दर र लगानीमा दबाब पर्न सक्ने भएकाले वार्शको आगामी निर्णय अमेरिकाभन्दा बाहिरका बजारका लागि पनि महत्वपूर्ण बनेको रोयटर्स ले जनाएको छ।

प्रतिक्रिया 0