बंगलादेशमा खराब कर्जा संकट चुलियो, २९ बैंक उच्च जोखिममा

बिहीबार, ७ श्रावण २०८३, दिउँसो २:४७
Font Size: 20px

काठमाडौं  बंगलादेशको केन्द्रिय बैंक (Bangladesh Bank) ले बढ्दो निष्क्रिय कर्जा (Non-Performing Loan–NPL) नियन्त्रण गर्न २९ वटा वाणिज्य बैंकलाई छ महिनाभित्र खराब कर्जा उल्लेखनीय रूपमा घटाउन निर्देशन दिएको छ। तोकिएको लक्ष्य पूरा गर्न नसक्ने बैंकका खराब कर्जा एसेट म्यानेजमेन्ट कम्पनी (Asset Management Company–AMC) मा हस्तान्तरण गरिने चेतावनीसमेत दिइएको छ।

बंगलादेशको केन्द्रिय बैंकका गभर्नर मोस्ताकुर रहमान ले जुलाई १२ देखि १९ सम्म २९ बैंकका प्रमुख कार्यकारी अधिकृत (Managing Director) सँगको बैठकमा यस्तो निर्देशन दिएका हुन्। बैठकमा प्रत्येक बैंकले तयार पारेको खराब कर्जा नियन्त्रण कार्ययोजनाको समीक्षा गर्दै उच्च जोखिममा रहेका बैंकलाई निश्चित समयभित्र सुधार गर्न निर्देशन दिइएको हो।

केन्द्रीय बैंकले २० प्रतिशतभन्दा बढी NPL भएका बैंकलाई छ महिनाभित्र २० प्रतिशतभन्दा तल झार्न निर्देशन दिएको छ। त्यसैगरी १० देखि २० प्रतिशत NPL भएका बैंकलाई पनि छ महिनाभित्र १० प्रतिशतभन्दा कम मा झार्ने लक्ष्य तोकिएको छ। निर्धारित समयभित्र लक्ष्य पूरा गर्न नसक्ने बैंकका बाँकी खराब कर्जा समाधानका लागि एसेट म्यानेजमेन्ट कम्पनीमा हस्तान्तरण गरिने गभर्नर रहमानले स्पष्ट पारेका छन्।

बैठकमा गभर्नरले नयाँ खराब कर्जा सिर्जना हुन नदिन विशेष ध्यान दिन, पुराना कर्जा असुलीलाई तीव्र बनाउन तथा पुनर्संरचना (Rescheduled) गरिएका कर्जाको नियमित निगरानी गर्न निर्देशन दिएका छन्। साथै ठूला ऋणीबाट कर्जा असुली अभियान प्रभावकारी बनाउन, कृषि तथा साना तथा मझौला उद्यम (SME) क्षेत्रका ऋणीसँग प्रत्यक्ष सम्पर्क बढाउन र जोखिम व्यवस्थापनलाई थप सुदृढ बनाउन बैंकहरूलाई आग्रह गरिएको छ।

बंगलादेशको केन्द्रिय बैंकले बैंकहरूलाई वास्तविक अवस्थाभन्दा फरक वित्तीय चित्र प्रस्तुत नगर्न पनि सचेत गराएको छ। खराब कर्जालाई ब्यालेन्स सिटमा राखेर तिर्न बाँकी रहेको ब्याजलाई आम्दानीका रूपमा देखाउने तथा त्यसकै आधारमा लाभांश वितरण गर्ने प्रवृत्ति रोक्न निर्देशन दिइएको छ। यसबाहेक, पटक–पटक पुनर्संरचना गरिएका कर्जाको वैकल्पिक विवाद समाधान (Alternative Dispute Resolution–ADR), एक्जिट सुविधा वा कानुनी प्रक्रियामार्फत शीघ्र टुंगो लगाउन, लामो समयदेखि वर्गीकृत कर्जालाई प्रचलित नियमअनुसार राइट अफ (Write-off) गर्न तथा आवश्यक परे नयाँ पूँजी थपेर बैंकको पूँजी आधार (Capital Base) बलियो बनाउन पनि निर्देशन दिइएको छ।

बंगलादेश बैंकका अनुसार सन् २०२५ को मार्च मसान्तसम्म २९ बैंकको निष्क्रिय कर्जा अनुपात १० प्रतिशतदेखि ९९ प्रतिशतसम्म पुगेको छ। Bank of Pakistan, First Security Islami Bank, Global Islami Bank, Union Bank, Padma Bank, ICB Islamic Bank, Social Islami Bank, EXIM Bank, Janata Bank, IFIC BankIslami Bank Bangladesh उच्च खराब कर्जा भएका बैंकहरूको सूचीमा रहेका छन्।

बंगलादेशको बैंकिङ क्षेत्र अहिले गम्भीर वित्तीय दबाबमा रहेको छ। मार्च २०२५ सम्म बैंकिङ प्रणालीको कुल निष्क्रिय कर्जा ५.८९ लाख करोड टाका पुगेको छ, जुन कुल प्रवाह भएको कर्जाको ३२.२६ प्रतिशत हो। सोही अवधिमा वर्गीकृत कर्जाविरुद्ध व्यवस्था गर्नुपर्ने प्रावधान (Loan-loss Provision) मा करिब २.०५ लाख करोड टाकाको अभाव (Provision Shortfall) रहेको केन्द्रीय बैंकले जनाएको छ। यसले बैंकहरूको वित्तीय क्षमता र जोखिम व्यवस्थापनमा गम्भीर चुनौती रहेको संकेत गर्छ।

बंगलादेशको केन्द्रिय बैंकका अनुसार दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा उच्च निष्क्रिय कर्जा अनुपात अहिले बंगलादेशमै रहेको छ। यही कारण बैंकिङ प्रणालीको स्थायित्व कायम राख्न, निक्षेपकर्ताको विश्वास जोगाउन तथा वित्तीय क्षेत्रलाई थप सुदृढ बनाउन केन्द्रीय बैंकले कडा नियामकीय हस्तक्षेप सुरु गरेको जनाएको छ।

प्रतिक्रिया 0