कोलम्बो । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (IFC) ले श्रीलंकाको अग्रणी पोल्ट्री उत्पादक कम्पनी न्यु एन्थोनीज फार्म्स ग्रुप (NAF) मा १ करोड अमेरिकी डलरसम्म लगानी गर्ने भएको छ। उक्त लगानीमार्फत कम्पनीले उत्पादन क्षमता विस्तार, आपूर्ति शृंखला सुदृढीकरण, निर्यात वृद्धि तथा ग्रामीण क्षेत्रमा रोजगारी सिर्जनामा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
IFC ले गर्ने १ करोड डलर लगानीमध्ये ५० लाख डलरसम्म रकम ग्लोबल एग्रिकल्चर एन्ड फुड सेक्युरिटी प्रोग्राम (GAFSP) प्राइभेट सेक्टर विन्डो मार्फत उपलब्ध गराइनेछ।
सन् १९८६ मा स्थापना भएको NAF श्रीलंकाको सबैभन्दा ठूलो एकीकृत पोल्ट्री उत्पादक कम्पनीमध्ये एक हो। कम्पनीले कुखुरा प्रजनन, दाना उत्पादन, प्रशोधन, मूल्य अभिवृद्धियुक्त उत्पादन, वितरण, खुद्रा बिक्री तथा निर्यातसम्मको सम्पूर्ण व्यवसाय सञ्चालन गर्दै आएको छ।
NAF श्रीलंकाको पहिलो ग्रीन सर्टिफाइड पोल्ट्री उत्पादक कम्पनी हो। यसका साथै हरितगृह ग्यास (GHG) मापन तथा प्रमाणीकरण लागू गर्ने पहिलो कम्पनी, दक्षिण एसिया तथा सब-सहारन अफ्रिकामा Sustainable U.S. Soy Label प्रयोग गर्ने पहिलो कम्पनी तथा अन्तर्राष्ट्रिय स्तरको Animal Welfare Certification प्राप्त गर्ने अग्रणी कम्पनीका रूपमा परिचित छ।
वार्षिक २० अर्ब श्रीलंकाली रुपैयाँभन्दा बढी कारोबार गर्ने NAF ले प्रत्यक्ष रोजगारी तथा हजारौं किसानको सञ्जालमार्फत देशको खाद्य सुरक्षामा महत्वपूर्ण योगदान दिँदै आएको छ।
नयाँ लगानीपछि कम्पनीले उत्पादन क्षमता विस्तार गर्ने, सञ्चालन दक्षता सुधार गर्ने तथा देशभर सुरक्षित र किफायती कुखुराजन्य उत्पादनको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ। परियोजनाबाट ९०० भन्दा बढी नयाँ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, करार खेती तथा आउटग्रोअर कार्यक्रममार्फत आबद्ध कम्तीमा २०० साना किसान प्रत्यक्ष लाभान्वित हुनेछन्। तीमध्ये करिब २२ प्रतिशत महिला तथा ८० प्रतिशत न्यून आय भएका किसान रहने अनुमान गरिएको छ। हाल कम्पनीको कुल उत्पादनमध्ये करिब ४० प्रतिशत योगदान साना किसानबाट आउने गरेको छ।
NAF ले देशभर आफ्नो खुद्रा बिक्री तथा फ्रेन्चाइज सञ्जाल विस्तार गर्ने योजना समेत बनाएको छ। यसले प्राकृतिक तथा एन्टिबायोटिकरहित कुखुराजन्य उत्पादन उपभोक्तामाझ थप सहज रूपमा पुर्याउने अपेक्षा गरिएको छ।
पूर्ण क्षमतामा सञ्चालनमा पुगेपछि कम्पनीले वार्षिक १,९३६ मेट्रिक टन कुखुराजन्य उत्पादन निर्यात गर्ने लक्ष्य राखेको छ, जुन सन् २०२४ को तुलनामा २९ प्रतिशत बढी हुनेछ। यस विस्तारबाट सन् २०३२ सम्ममा थप ४.९५ मिलियन अमेरिकी डलर बराबरको विदेशी मुद्रा आम्दानी हुने अनुमान गरिएको छ।
सन् २०२४ मा मात्र NAF ले श्रीलंकाको कुल कुखुराको मासु निर्यातको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको थियो।
NAF का प्रमुख कार्यकारी अधिकृत (CEO) नील सुरावेेरा ले IFC सँगको साझेदारी कम्पनीको विकास यात्रामा ऐतिहासिक मोड भएको उल्लेख गर्दै यसले सुशासन, पारदर्शिता तथा वातावरणीय तथा सामाजिक उत्तरदायित्वका उच्च मापदण्ड स्थापित गर्ने बताएका छन्।
त्यसैगरी IFC का एशिया–प्रशान्त क्षेत्रका उत्पादन, कृषि व्यवसाय तथा सेवा क्षेत्र निर्देशक कार्स्टेन मुलर ले यस लगानीले श्रीलंकाको पोल्ट्री क्षेत्रलाई थप प्रतिस्पर्धी, दिगो तथा निर्यातमुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
यस कार्यक्रमले दीर्घकालीन तथा अल्पकालीन ऋण, कर्जा ग्यारेन्टी, इक्विटी लगानी तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै साना किसानलाई वित्तीय पहुँच, प्रविधि, विशेषज्ञता तथा बजारसँग जोड्ने काम गर्छ।
प्रतिक्रिया 0