जीवन बीमा कम्पनीको १ खर्ब ३ अर्ब कर्जा, ब्याजबाटै कमाए १० अर्ब

बुधबार, २ मंसिर २०८३, राति ९:३९


काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले बीमित तथा विभिन्न क्षेत्रमा १ खर्ब ३ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्। कम्पनीहरूले बीमालेख धितोमा प्रवाह गरेको कर्जाबाट मात्रै १० अर्ब ३८ करोड ६४ लाख रुपैयाँ ब्याज आम्दानी गरेका छन्।

जीवन बीमा कम्पनीहरूको त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीहरूले कुल लगानी तथा कर्जाबाट ५९ अर्ब १४ करोड २५ लाख रुपैयाँ आम्दानी गरेका छन्। यसमध्ये बीमितलाई बीमालेख धितोमा उपलब्ध गराएको कर्जाबाट प्राप्त ब्याज आम्दानीको हिस्सा करिब १७.५६ प्रतिशत रहेको छ।

१४ वटा जीवन बीमा कम्पनीको कुल सम्पत्ति १० खर्ब ७४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। कम्पनीहरूले विभिन्न क्षेत्रमा ८ खर्ब ८७ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेका छन्। कुल सम्पत्तिको करिब ९.६२ प्रतिशत हिस्सा कर्जा प्रवाहमा रहेको छ। यसले जीवन बीमा कम्पनीहरूका लागि बीमालेख धितो कर्जा आम्दानीको महत्वपूर्ण स्रोत बनेको देखाउँछ।

नेपाल लाइफको सबैभन्दा धेरै कर्जा

कर्जा प्रवाहमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको छ। कम्पनीले ३४ अर्ब ६७ करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो कुल कर्जाको ३३.५४ प्रतिशत हो।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले २० अर्ब १५ करोड ५३ लाख रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्सले १२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

यी तीन कम्पनीले मात्रै कुल ६७ अर्ब २१ करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यो १४ वटा जीवन बीमा कम्पनीको कुल कर्जाको ६५.०१ प्रतिशत हो।

अन्य कम्पनीमध्ये हिमालयन लाइफले ८ अर्ब ६० करोड ८३ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ५ अर्ब ३४ करोड ५९ लाख रुपैयाँ र एसियन लाइफले ५ अर्ब २७ करोड ३४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

त्यसैगरी, सानिमा रिलायन्स लाइफले १ अर्ब ९८ करोड ३३ लाख रुपैयाँ, मेटलाइफ अलिकोले १ अर्ब ७६ करोड २८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ५७ करोड ६५ लाख रुपैयाँ, आईएमई लाइफले १ अर्ब ३० करोड ६५ लाख रुपैयाँ र सिटिजन लाइफले १ अर्ब २५ करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

सन नेपाल लाइफले ८० करोड ८३ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले ७१ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यी दुई कम्पनीको कर्जा प्रवाह सबैभन्दा कम देखिएको छ।

के हो बीमालेख धितो कर्जा ?

जीवन बीमा गराएका बीमितले निश्चित अवधि पूरा भएपछि आफ्नो बीमालेखको समर्पण मूल्य (सरेन्डर भ्यालु) का आधारमा सम्बन्धित बीमा कम्पनीबाट कर्जा लिन सक्छन्। यसलाई बीमालेख धितो कर्जा भनिन्छ।

बीमितलाई आकस्मिक आर्थिक आवश्यकता पर्दा बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिनुभन्दा आफ्नै बीमालेखका आधारमा कर्जा लिन सहज हुने भएकाले यस्तो कर्जाप्रति आकर्षण बढ्ने गरेको छ। बीमालेखको प्रकृति, समर्पण मूल्य र सम्बन्धित कम्पनीको नियमअनुसार कर्जाको सीमा निर्धारण हुन्छ।

अर्कोतर्फ, बीमा कम्पनीहरूका लागि पनि यस्तो कर्जा ब्याज आम्दानीको नियमित स्रोत बनेको छ। कर्जा भुक्तानी नभएमा प्रचलित व्यवस्था तथा सर्तअनुसार कम्पनीले बीमालेखको समर्पण मूल्य वा दाबी भुक्तानीबाट साँवा तथा ब्याज असुल गर्न सक्छन्।

यसरी बीमालेख धितो कर्जाले बीमितलाई आवश्यक परेको समयमा वित्तीय स्रोत उपलब्ध गराउनुका साथै जीवन बीमा कम्पनीहरूको आम्दानी बढाउन पनि महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।

प्रतिक्रिया 0