बीमा कसले बुझाउने-प्राधिकरण, कम्पनी कि अभिकर्ता ?

बीमामा मिस-सेलिङ बढेपछि प्राधिकरणको कडाइ

सोमबार, ८ भदौ २०८३, बेलुका ६:५७
Font Size: 20px

काठमाडौं । बीमा बेच्ने क्रममा ग्राहकलाई बीमाको वास्तविक प्रकृति र त्यसबाट प्राप्त हुने लाभबारे स्पष्ट जानकारी दिनुपर्ने विषय फेरि चर्चामा आएको छ। नेपाल बीमा प्राधिकरणले बीमा योजनाको बिक्रीमा हुने भ्रामक प्रचार तथा ‘Mis-selling’ नियन्त्रण गर्न बीमक र अभिकर्तालाई कडा निर्देशन जारी गर्दै बीमा के हो र के होइन भन्ने कुरा ग्राहकलाई स्पष्ट रूपमा बुझाउनुपर्ने भनेको छ

प्राधिकरणले बीमा योजनालाई ‘Fixed Deposit Plan’, ‘ब्याज दिने योजना’, ‘डबल मनी योजना’, ‘निश्चित लगानी प्रतिफल’ वा अन्य कुनै निक्षेप तथा लगानी योजनाका रूपमा प्रस्तुत गरी बिक्री गर्न नपाउने स्पष्ट गरेको छ। बीमालेखका शर्त तथा प्राधिकरणबाट स्वीकृत लाभभन्दा बाहिर गई निश्चित बोनस, प्रतिफल, रकम वा अन्य लाभ पाइने भन्दै आश्वासन दिनसमेत रोक लगाइएको छ।

बीमा र निक्षेप वा लगानीबीचको भिन्नता ग्राहकलाई स्पष्ट पार्ने जिम्मेवारी पनि तोकिएको छ। बीमा प्रस्ताव पेश गर्दा उक्त योजना निक्षेप वा ‘Fixed Deposit’ होइन भन्ने विषय स्पष्ट रूपमा बुझाउनुपर्ने प्राधिकरणले जनाएको छ।

बीमा कसले बुझाउने? प्राधिकरण, बीमा कम्पनी कि अभिकर्ताले?

नियामकको काम नियम बनाउने, मापदण्ड तय गर्ने, अनुगमन गर्ने र उल्लंघनमा कारबाही गर्ने हो। तर ग्राहकले बीमा किन्दा उसले नियमावली वा नियामकीय निर्देशन पढेर होइन, अधिकांश अवस्थामा कम्पनी र अभिकर्ताबाट प्राप्त सूचनाका आधारमा निर्णय गर्छ। त्यसैले बीमाको वास्तविक प्रकृति, जोखिम, लाभ र सीमाबारे ग्राहकलाई बुझाउने प्रत्यक्ष जिम्मेवारी कम्पनी र अभिकर्ताको पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

प्राधिकरणको पछिल्लो निर्देशनले पनि यही जिम्मेवारीलाई थप स्पष्ट गरेको छ। बीमा बिक्री गर्दा बीमितको आवश्यकता, आर्थिक क्षमता, उमेर, आयस्रोत तथा बीमा उद्देश्यलाई ध्यानमा राखेर उपयुक्त योजना सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसैगरी, बीमा कम्पनीले अभिकर्ताले प्रयोग गर्ने बिक्री सामग्रीको परीक्षण गर्नुपर्नेछ। ग्राहकका गुनासोको विश्लेषण तथा सम्बोधन गर्नुपर्ने र सामाजिक सञ्जालमार्फत हुने बीमा प्रचारको नियमित अनुगमन गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

प्राधिकरणले ‘Mis-selling’ सम्बन्धी गुनासोको छुट्टै अभिलेख राख्न पनि बीमकलाई भनेको छ। त्यस्ता गुनासोको संख्या, प्रकृति, समाधान तथा गरिएको कारबाहीको विवरण प्रत्येक त्रैमासिक रूपमा प्राधिकरणमा पेश गर्नुपर्नेछ।

यसले बीमा बिक्रीमा जिम्मेवारीको तह स्पष्ट बनाएको छ। प्राधिकरणले नियमन र निगरानी गर्ने, कम्पनीले आफ्नो उत्पादन र बिक्री प्रणाली व्यवस्थित गर्ने तथा अभिकर्ताले ग्राहकलाई सही सूचना दिएर उपयुक्त बीमा योजना सिफारिस गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने देखिन्छ।

तर समस्या केवल निर्देशन जारी गरेर समाधान हुने विषय होइन। बीमालाई ‘एफडी’, ‘डबल मनी’ वा निश्चित प्रतिफल दिने योजनाका रूपमा बुझाउने प्रवृत्ति रोक्न कम्पनीको बिक्री प्रणालीदेखि अभिकर्ताको व्यवहारसम्म निरन्तर निगरानी आवश्यक हुन्छ। नियामकले पनि समस्या आएपछि कारबाही गर्ने मात्र नभई बजारमा त्यस्तो समस्या आउन नदिने गरी निरन्तर सुपरिवेक्षण र सुधारको वातावरण बनाउनुपर्ने प्रश्न उठ्छ।

प्राधिकरणले पछिल्लो निर्देशनमा उल्लंघन गर्ने, गलत सूचना दिने, भ्रामक प्रचार गर्ने, अतिरञ्जित दाबी गर्ने वा बीमालेखको वास्तविक प्रकृति लुकाउने बीमा अभिकर्ता तथा बीमकलाई बीमा ऐन, २०७९ बमोजिम कारबाही हुने स्पष्ट चेतावनी दिएको छ।

नियामकले अन्तिम चरणमा कारबाही गर्ने मात्र होइन, बजारमा समस्या जन्मिनुअघि नै निगरानी, निर्देशन, सुपरिवेक्षण र सुधारको वातावरण बनाउनुपर्छ। बीमा जस्तो संवेदनशील क्षेत्रमा बिकृति देखिएपछि मात्रै कडा निर्देशन आउनु नियमनको प्रभावकारितामाथि प्रश्न उठाउने विषय हो। नियामकको भूमिका ‘रेड कार्ड’ देखाउनेमा सीमित हुनु हुँदैन, बजारलाई सही दिशामा व्यवस्थापन गर्ने निरन्तर जिम्मेवारी पनि उसकै हो ।

बीमा साक्षरता बढाउने जिम्मेवारी कुनै एक निकायको मात्र होइन। नियामकले नीति, मापदण्ड र साक्षरता अभियानको नेतृत्व गर्नुपर्ने हुन्छ भने बीमा कम्पनीले आफ्ना उत्पादन, जोखिम र लाभबारे सरल र पारदर्शी जानकारी दिनुपर्छ। अभिकर्ताले ग्राहकको आवश्यकता र क्षमताअनुसार सही योजना बुझाउनुपर्छ। 


यो पनि

बैंकको ब्याज घटेपछि बचतकर्ताको रोजाइमा बीमा

बीमा दाबी भुक्तानी समयमा नपाए उजुरी गर्न प्राधिकरणको आग्रह

प्रतिक्रिया 0