नेपाल बीमा प्राधिकरणले नियामकीय निर्देशन उल्लंघन गर्ने एक बीमा कम्पनी र एक पुनर्बीमा दलाल कम्पनीलाई नगद जरिवाना गरेको छ । प्राधिकरणले जारी गरेको सूचनाअनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्स र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ लाई बीमा ऐन, २०७९ अनुसार कारबाही गरिएको हो ।
प्राधिकरणका अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सम्पत्ति बीमा निर्देशिका, २०८० को दफा २५ (२) विपरीत कार्य गरेको पाइएकाले बीमा ऐनको दफा १३८ उपदफा (४) को खण्ड (क) बमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । पहिलो पटकको उल्लंघन भएकाले न्यूनतम जरिवाना गरिएको प्राधिकरणले जनाएको छ ।
त्यसैगरी, लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङले पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका, २०७८ को दफा १५ को उपदफा (१) र (२) पालना नगरेको भन्दै बीमा ऐन, २०७९ को दफा १३८ उपदफा (६) को खण्ड (क) अनुसार पाँच हजार रुपैयाँ जरिवाना गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले दुवै संस्थामाथिको कारबाही २०८३ वैशाख १५ गतेको निर्णयअनुसार अघि बढाइएको उल्लेख गरेको छ ।
प्रतिक्रिया 0