भोटेकोशी–त्रिशूली बाढीमा २६ अर्बको बीमा दाबी

मंगलबार, १६ भदौ २०८३, दिउँसो २:२४

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको बीमा दाबी २५ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी पुगेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार ५८३ वटा बीमा दाबी परेका छन्।

प्राधिकरणको २०८३ भदौ १५ गतेसम्मको विवरणअनुसार विभिन्न १५ वटा बीमा कम्पनीमा परेको दाबीको अनुमानित तथा प्रारम्भिक रकम रु. २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रहेको छ ।

बीमा कम्पनीतर्फ हेर्दा द ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा सबैभन्दा बढी रकमको दाबी परेको छ। त्यसपछि युनाइटेड अजोड इन्स्योरेन्स, सानिमा जीआईसी, सिद्धार्थ प्रिमियर, शिखर इन्स्योरेन्स, हिमालयन एभरेस्ट, नेको, सगरमाथा लुम्बिनी, नेपाल इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल, एनएलजी, प्रभु, राष्ट्रिय बीमा कम्पनी, नेशनल इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्समा दाबी परेको प्राधिकरणको विवरणमा उल्लेख छ।

बीमालेखको प्रकारअनुसार इन्जिनियरिङ तथा ठेकेदार बीमा, सम्पत्ति बीमा, मोटर बीमा, परिवहन बीमा, अन्य बीमा र स्वास्थ्य बीमामा दाबी परेको छ।

संख्याका आधारमा मोटर बीमामा ३१३ वटा दाबी परेको छ। त्यस्तै सम्पत्ति बीमामा ११३, अन्य बीमामा ५४, इन्जिनियरिङ तथा ठेकेदार बीमामा ५२, परिवहन बीमामा ४७ र स्वास्थ्य बीमामा ४ वटा दाबी परेको प्राधिकरणले जनाएको छ।

रकमका आधारमा भने इन्जिनियरिङ तथा ठेकेदार बीमाअन्तर्गतको दाबी सबैभन्दा ठूलो देखिएको छ। यसले बाढीबाट जलविद्युत्, निर्माणाधीन आयोजना, पूर्वाधार तथा अन्य इन्जिनियरिङ संरचनामा भएको क्षतिको ठूलो आर्थिक प्रभाव देखाउँछ।

प्राधिकरणले सार्वजनिक गरेको रकम अनुमानित/प्रारम्भिक बीमा दाबी हो। क्षतिको विस्तृत मूल्यांकन, आवश्यक कागजात परीक्षण तथा दाबी फर्छ्योटको प्रक्रिया पूरा भएपछि वास्तविक भुक्तानी रकम फरक हुन सक्नेछ।


प्रतिक्रिया 0