काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो मात्रामा बीमा भएका सम्पत्तिमा क्षति पुर्याएपछि बीमा क्षेत्रमा आर्थिक दायित्व बढ्ने देखिएको छ। जलविद्युत् आयोजना, सवारीसाधन, आयातित सामग्री, कन्टेनर, घर तथा होटलदेखि बैंकका शाखासम्ममा क्षति पुगेकाले बीमा कम्पनीमा ठूलो रकमको दाबी पर्न सक्ने प्रारम्भिक आकलन गरिएको छ। यद्यपि, क्षतिको विस्तृत विवरण संकलन भइरहेकाले कुल बीमा दायित्वको यकिन भइसकेको छैन।
बाढीबाट सञ्चालनमा रहेका १२ जलविद्युत् आयोजना र एउटा सौर्य आयोजनामा गम्भीर क्षति पुगेको छ भने निर्माणाधीन थप १५ आयोजना प्रभावित भएका छन्। रसुवागढी, चिलिमे, त्रिशूली–३ एलगायतका आयोजना तथा प्रसारण संरचनामा समेत क्षति पुगेको छ। यसैगरी, प्रभावित क्षेत्रमा रहेका ९ वटा बैंक शाखाका भवन तथा भौतिक संरचना बाढीले बगाएको वा पूर्ण रूपमा क्षतिग्रस्त भएको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ। बैंक तथा बीमा कम्पनीका केही शाखासँग समेत बाढीपछि सम्पर्क विच्छेद भएको थियो।
बीमा क्षेत्रले भने क्षतिको विवरण संकलन तथा दाबी प्रक्रियालाई अघि बढाउन थालेको छ। नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा सहयोग गर्न र बीमितको क्षतिको विवरण संकलन गर्न आग्रह गरेको छ। विभिन्न निर्जीवन बीमा कम्पनीले प्रभावित बीमितलाई क्षतिको जानकारी गराउन तथा दाबी प्रक्रियाका लागि सम्पर्क गर्न आग्रह गर्दै सहायता व्यवस्था अघि बढाएका छन्। बीमा कम्पनीहरूले दाबीलाई सकेसम्म छिटो र सहज रूपमा सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
अब बीमा क्षेत्रका लागि क्षतिको यथार्थ मूल्याङ्कन र दाबी भुक्तानी मुख्य चुनौती बन्ने देखिएको छ। प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गर्न कठिन रहेकाले मूल्याङ्कनमा समय लाग्न सक्नेछ। विगतका विपत्तिको तुलनामा यसपटक जलविद्युत्, सवारीसाधन र व्यावसायिक सम्पत्तिको बीमा कभरेज ठूलो रहेकाले दाबी रकम पनि उल्लेख्य हुन सक्ने देखिएको छ। विशेषगरी ठूला जलविद्युत् आयोजनाको दायित्व पुनर्बीमा कम्पनीसम्म जाने भएकाले रसुवा बाढीको प्रभाव बीमा कम्पनीसँगै पुनर्बीमा क्षेत्रमा समेत पर्ने देखिएको छ।
प्रतिक्रिया 0