भोटेकोशी बाढीपीडितलाई बीमा दाबी भुक्तानी प्रक्रिया सहज

मंगलबार, १३ आश्विन २०८३, दिउँसो १२:२०


काठमाडौं । भोटेकोशी, त्रिशूली र नारायणी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बिमितको बीमा दाबी भुक्तानी प्रक्रिया सहज हुने भएको छ। नेपाल बीमा प्राधिकरणले रसुवा बाढी दाबी भुक्तानीसम्बन्धी संक्षिप्त कार्यविधि, २०८३ जारी गर्दै बेपत्ता बिमितका आश्रित परिवार तथा बाढीमा बीमासम्बन्धी कागजात गुमाएका पीडितलाई दाबी भुक्तानीमा सहजीकरण गरेको हो।

जीवन बीमातर्फ रसुवा बाढीमा बेपत्ता भएका बिमितको हकमा सामान्य अवस्थामा लागू हुने १२ वर्षको प्रतीक्षा व्यवस्था बाधक नबन्ने भएको छ। स्थानीय सरकार, जिल्ला प्रशासन, नेपाल प्रहरी वा अन्य सम्बन्धित सरकारी निकायबाट मृत्यु पुष्टि हुने प्रमाणका आधारमा दाबी भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। तर, पछि बेपत्ता व्यक्ति जीवित भेटिएमा वा क्षतिग्रस्त सम्पत्ति सकुशल फेला परेमा प्राप्त बीमा रकम फिर्ता गर्नुपर्ने सर्त राखिएको छ।

निर्जीवन बीमातर्फ भदौ १० गतेको बाढीबाट २ हजार १ सय ८० बिमितले प्रारम्भिक रूपमा २० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ दाबी गरेका छन्। असोज १२ सम्ममा बीमा कम्पनीहरूले ६७ लाख ४८ हजार रुपैयाँ मात्र भुक्तानी गरेका छन्। कुल दाबीमध्ये सम्पत्ति बीमामा ९ अर्ब ४१ करोड ५८ लाख, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामा ४ अर्ब ४१ करोड ४५ लाख, मोटर बीमामा ३ अर्ब ७ करोड ९३ लाख र परिवहन बीमामा २ अर्ब ४८ करोड ५१ लाख रुपैयाँ दाबी परेको छ।

प्राधिकरणका अनुसार बाढीमा बीमासम्बन्धी कागजात हराएका पीडितले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्ला प्रशासन कार्यालय, सम्बन्धित स्थानीय तह वा नेपाल प्रहरीमध्ये कुनै एक सरकारी निकायको सिफारिस तथा प्रमाणका आधारमा दाबी प्रक्रिया अघि बढाउन सक्नेछन्। प्राधिकरणले नयाँ कार्यविधिबाट दाबी भुक्तानी छिटो, सरल र पारदर्शी हुने अपेक्षा गरेको छ।

प्रतिक्रिया 0