चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूले ५८ अर्ब ७२ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज मसान्तसम्मको तथ्याङ्कअनुसार जीवन बीमा व्यवसायमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमाशुल्क संकलन गर्दै आफ्नो अग्रता कायम राखेको छ।
प्राधिकरणको तथ्याङ्कअनुसार १४ जीवन बीमा कम्पनी, तीन लघु जीवन बीमा कम्पनी तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलमार्फत उक्त बीमाशुल्क संकलन भएको हो। समीक्षा अवधिमा संकलित कुल बीमाशुल्कमध्ये १३ अर्ब ९२ करोड ३ लाख रुपैयाँ नयाँ बीमालेख अर्थात् प्रथम बीमाशुल्कबाट प्राप्त भएको छ। त्यस्तै, पुराना बीमालेख नवीकरणबाट ४४ अर्ब ८० करोड ८९ लाख रुपैयाँ संकलन भएको छ। यसले जीवन बीमा व्यवसायमा नवीकरण बीमाशुल्कको योगदान उल्लेख्य रहेको देखाउँछ। असोज महिनामा मात्रै जीवन बीमा कम्पनीहरूले १ अर्ब ७४ करोड ३७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
नेपाल लाइफ पहिलो, नेशनल लाइफ दोस्रो
कम्पनीगत रूपमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको छ। कम्पनीले असोज मसान्तसम्म १४ अर्ब ७२ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। यसमध्ये ३ अर्ब १५ करोड १२ लाख रुपैयाँ प्रथम बीमाशुल्क र ११ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क रहेको छ।
त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले ७ अर्ब ३६ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै दोस्रो स्थान हासिल गरेको छ। लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले ५ अर्ब ४५ करोड ७८ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सले ५ अर्ब १५ करोड १३ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ८३ करोड १७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
यसैगरी, सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्सले २ अर्ब ७८ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। तथ्याङ्कअनुसार नेपाल लाइफको बीमाशुल्क संकलन दोस्रो स्थानमा रहेको नेशनल लाइफको भन्दा दोब्बर बढी छ।
लघु जीवन बीमाबाट १ अर्ब १० करोड संकलन
जीवन बीमा व्यवसायमा लघु जीवन बीमाको योगदान पनि देखिएको छ। समीक्षा अवधिमा लघु जीवन बीमालेखमार्फत १ अर्ब १० करोड रुपैयाँ बीमाशुल्क संकलन भएको छ। यस अवधिमा कुल ६ लाख ७० हजार ५५४ वटा लघु जीवन बीमालेख जारी भएका छन्।
हाल गार्डियन माइक्रो लाइफ, क्रेस्ट माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफ गरी तीन कम्पनीले लघु जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका छन्। लघु जीवन बीमाले कम आय भएका तथा परम्परागत बीमाको पहुँचबाहिर रहेका नागरिकलाई बीमाको दायरामा ल्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
त्यस्तै, वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलमार्फत असोज मसान्तसम्म ८६ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ।
बागमती प्रदेशबाट मात्रै ४६ प्रतिशत बीमाशुल्क
प्रदेशगत रूपमा हेर्दा जीवन बीमा व्यवसाय बागमती प्रदेशमा सबैभन्दा बढी केन्द्रित रहेको छ। असोज मसान्तसम्म बागमती प्रदेशबाट मात्रै २६ अर्ब ८८ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ। यो कुल बीमाशुल्कको झन्डै ४६ प्रतिशत हो।
त्यस्तै, लुम्बिनी प्रदेशबाट ८ अर्ब ८४ करोड ११ लाख रुपैयाँ, कोशी प्रदेशबाट ६ अर्ब ९२ करोड ४८ लाख रुपैयाँ र गण्डकी प्रदेशबाट ५ अर्ब ८३ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ।
मधेश प्रदेशबाट ५ अर्ब १५ करोड ९७ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट ३ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट १ अर्ब ७२ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। यसले प्रदेशगत रूपमा जीवन बीमाको पहुँचमा असमानता रहेको देखाउँछ।
सावधिक जीवन बीमालेखमा आकर्षण
बीमालेखको प्रकृतिअनुसार सावधिक जीवन बीमा योजनामा सबैभन्दा धेरै बीमाशुल्क संकलन भएको छ। समीक्षा अवधिमा यस प्रकारको बीमालेखबाट २६ अर्ब १२ करोड ३ लाख रुपैयाँ बीमाशुल्क प्राप्त भएको छ।
त्यस्तै, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखबाट १० अर्ब ४६ करोड रुपैयाँ, बालबच्चासम्बन्धी सावधिक जीवन बीमालेखबाट ८ अर्ब ५७ करोड रुपैयाँ र रूपान्तरित सावधिक जीवन बीमालेखबाट ६ अर्ब ४१ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको छ।
प्रतिक्रिया 0