जीवन बीमा कम्पनीहरूको प्रथम बीमाशुल्क २३ प्रतिशत बढ्यो

सोमबार, १८ श्रावण २०८३, बेलुका ५:३४
Font Size: 20px

नेपालका १४ जीवन बीमा कम्पनीहरूको आर्थिक वर्ष २०८२/८३ को व्यवसायिक अवस्थाले जीवन बीमा क्षेत्रमा सुधारको संकेत देखाएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सक्रिय बीमालेख र प्रथम बीमाशुल्क दुवैमा वृद्धि भएको छ।

तथ्यांकअनुसार समीक्षा अवधिमा कुल सक्रिय बीमालेखको संख्या १ करोड १८ लाख ५० हजार ३९१ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो संख्या १ करोड १५ लाख २७ हजार ९९४ रहेको थियो। यसअनुसार सक्रिय बीमालेख २.८० प्रतिशतले बढेको देखिन्छ।

यस्तै, जीवन बीमा कम्पनीहरूले संकलन गरेको कुल प्रथम बीमाशुल्क ४९ अर्ब ४० करोड ३३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको ४० अर्ब १७ करोड ६० लाख रुपैयाँको तुलनामा यो २२.९७ प्रतिशतले बढी हो। यसले जीवन बीमा क्षेत्रमा नयाँ व्यवसाय विस्तार र बीमा पहुँच बढ्दै गएको संकेत गरेको छ।


सक्रिय बीमालेखका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स २४ लाख ४१ हजार ७६१ बीमालेखसहित पहिलो स्थानमा रहेको छ। नेपाल लाइफ इन्स्योरेन्स १९ लाख ८२ हजार ९२३ बीमालेखसहित दोस्रो तथा नेशनल लाइफ इन्स्योरेन्स १३ लाख ३३ हजार ६५९ बीमालेखसहित तेस्रो स्थानमा रहेका छन्।

प्रथम बीमाशुल्क संकलनतर्फ भने नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले १३ अर्ब ७ करोड ९२ लाख रुपैयाँभन्दा बढी प्रथम बीमाशुल्क संकलन गरेको छ। नेशनल लाइफले ६ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले करिब ७९ करोड ७७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्।

कम्पनीगत रूपमा हेर्दा सन नेपाल लाइफको सक्रिय बीमालेख संख्या १०४.५० प्रतिशतले बढेको छ भने आईएमई लाइफको ४४ प्रतिशत र नेपाल लाइफको १६.१५ प्रतिशतले वृद्धि भएको छ। विपरीत रूपमा सिटिजन लाइफ, सानिमा रिलायन्स लाइफ, सूर्यज्योति लाइफ, एशियन लाइफ र नेशनल लाइफमा सक्रिय बीमालेखको संख्या केही घटेको देखिएको छ।

प्रथम बीमाशुल्क वृद्धिदरका आधारमा आईएमई लाइफ ६४.९८ प्रतिशत वृद्धिसहित सबैभन्दा अगाडि रहेको छ। त्यसपछि सिटिजन लाइफ ४२.२७ प्रतिशत, रिलायबल नेपाल लाइफ ३८.७४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफ ३४.६१ प्रतिशत तथा एशियन लाइफ २६.५२ प्रतिशत वृद्धिसहित रहेका छन्। यद्यपि, राष्ट्रिय जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क भने २८.२६ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ।

समग्रमा हेर्दा जीवन बीमा कम्पनीहरूको नयाँ व्यवसाय विस्तार, प्रथम बीमाशुल्क संकलन र बीमा पहुँचमा सकारात्मक सुधार देखिएको छ। यद्यपि, केही कम्पनीमा सक्रिय बीमालेख घटेकाले बीमालेख नवीकरण, ग्राहक संरक्षण तथा नयाँ व्यवसाय विस्तारमा थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।


प्रतिक्रिया 0