नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई बीमालेख, प्रचलित कानुन तथा नियामकीय व्यवस्थाअनुसार बीमा दाबीको भुक्तानी समयमै गर्न पुनः सचेत गराएको छ। कुनै बीमा कम्पनीले आवश्यक कागजात पूरा भइसकेपछि पनि दाबी फर्छ्योटमा अनावश्यक ढिलाइ गरे, उचित कारणबिना भुक्तानी रोके वा सेवाग्राहीलाई अनावश्यक रूपमा झुलाएमा सम्बन्धित बीमितले प्राधिकरणमा उजुरी दिन सक्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार, बीमितले सबै आवश्यक कागजात पेश गरेपछि कम्पनीले दाबीको निष्पक्ष मूल्यांकन गरी यथाशीघ्र निर्णय गर्नुपर्छ। यदि कम्पनीले दाबी अस्वीकार गर्ने निर्णय गरेमा त्यसको स्पष्ट र कानुनी आधारसहित जानकारी पनि सेवाग्राहीलाई दिनुपर्ने व्यवस्था छ। अनावश्यक ढिलाइ, अस्पष्ट जवाफ वा असन्तोषजनक व्यवहार भएमा नियामक निकायमा उजुरी गरेर समाधान खोज्न सकिने प्राधिकरणले उल्लेख गरेको छ।
प्राधिकरणले बीमा कम्पनीहरूलाई दाबी व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन निर्देशन दिँदै उपभोक्ताको हित संरक्षण आफ्नो प्रमुख दायित्व रहेको जनाएको छ। समयमै दाबी भुक्तानी हुँदा बीमा क्षेत्रप्रतिको विश्वास बढ्ने, उपभोक्ताको अधिकार सुनिश्चित हुने र समग्र बीमा उद्योगको विश्वसनीयता सुदृढ हुने प्राधिकरणको भनाइ छ।
यससँगै प्राधिकरणले बीमितलाई बीमालेख, दाबी प्रक्रिया र आवश्यक कागजातबारे जानकारी राख्न तथा समस्या परेमा सम्बन्धित बीमा कम्पनीसँग सम्पर्क गरी समाधान ननिस्किए नियामकसमक्ष औपचारिक उजुरी दर्ता गर्न पनि आग्रह गरेको छ।
प्रतिक्रिया 0