काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति, व्यवसाय तथा जलविद्युत् आयोजनालाई राहत पुग्ने गरी बीमा दाबीको भुक्तानी प्रक्रिया तीव्र बनाइने भएको छ। ठूला जलविद्युत् आयोजना तथा पूर्वाधारको क्षतिको पूर्ण मूल्याङ्कन गर्न समय लाग्ने भएकाले तत्कालको नगद आवश्यकता सम्बोधन गर्न बीमा कम्पनीहरूले प्रमाणित दाबीका आधारमा अग्रिम रकम उपलब्ध गराउने व्यवस्था गर्न लागेका हुन्।
अर्थ मन्त्रालयमा भएको छलफलमा वास्तविक र प्रमाणित बीमा दाबीलाई अनावश्यक प्रक्रियामा अल्झिन नदिई छिटो फर्स्योट गर्ने सहमति भएको छ। ठूला आयोजना तथा पूर्वाधारको पुनर्निर्माण तत्काल अघि बढाउन आवश्यकताअनुसार पेश्की भुक्तानी दिने, बीमा दाबीका लागि आवश्यक कागजातको प्रक्रिया सरल बनाउने र साना दाबीलाई प्राथमिकताका साथ छिटो भुक्तानी गर्ने निर्णयसमेत भएको छ।
प्रारम्भिक आकलनअनुसार भोटेकोशी बाढीबाट करिब ९०० मेगावाट क्षमताका जलविद्युत् आयोजनामा करिब १ खर्ब ८० अर्ब रुपैयाँ बराबरको लगानी प्रभावित भएको छ। बाढीले जलविद्युत् आयोजनासँगै सडक तथा अन्य भौतिक पूर्वाधार, सवारीसाधन, कृषि र निजी सम्पत्तिमा समेत ठूलो क्षति पुर्याएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म ५८३ वटा बीमा दाबी परेको छ भने ती दाबीको अनुमानित रकम २५ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ।
दाबी भुक्तानीको दैनिक प्रगति अनुगमन गर्न नेपाल बीमा प्राधिकरणमा विशेष कार्यदल गठन गरिने भएको छ। कार्यदलले बीमा कम्पनीहरूको दाबी फर्स्योटसँगै तरलता व्यवस्थापन र पुनर्बीमा कम्पनीबाट प्राप्त गर्नुपर्ने रकमको शोधभर्ना प्रक्रियालाई समेत तीव्र बनाउन समन्वय गर्नेछ। क्षति मूल्याङ्कनलाई थप विश्वसनीय र पारदर्शी बनाउन आवश्यक परे विदेशी विज्ञ परिचालन गर्ने तथा सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउने तयारीसमेत गरिएको छ।
प्रतिक्रिया 0