नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (CEO) को तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धी नयाँ मार्गदर्शन, २०८३ जारी गरेको छ। राष्ट्र बैंकले “क”, “ख”, “ग” र “घ” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थामा लागू हुने गरी उक्त मार्गदर्शन जारी गरेको हो।
राष्ट्र बैंकका अनुसार सीईओको तलब, भत्ता तथा अन्य सुविधाको निर्धारण गर्दा संस्थाको वित्तीय अवस्था, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, कार्यसम्पादन तथा दीर्घकालीन स्थायित्वलाई आधार बनाउनुपर्नेछ। मार्गदर्शनको उद्देश्य सीईओको पारिश्रमिक निर्धारणमा एकरूपता कायम गर्नुका साथै जोखिम व्यवस्थापन र संस्थागत सुशासन प्रवर्द्धन गर्नु रहेको छ।
मार्गदर्शनअनुसार सीईओको तलब तथा सुविधा निर्धारणका लागि सञ्चालक समितिअन्तर्गत स्वतन्त्र सञ्चालकको संयोजकत्वमा तीन सदस्यीय ‘तलब, भत्ता तथा अन्य सुविधा सिफारिस समिति’ गठन गर्नुपर्ने व्यवस्था गरिएको छ। उक्त समितिको सिफारिसका आधारमा सञ्चालक समितिले अन्तिम निर्णय गर्नेछ।
त्यसैगरी, सीईओको निश्चित वार्षिक पारिश्रमिक निर्धारण गर्दा संस्थाको कर्मचारी खर्च, कुल सम्पत्ति, व्यवसायको आकार, नाफा, जोखिम तथा बजार अभ्यासलाई आधार मान्नुपर्नेछ। साथै, कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रदान गर्दा सम्पत्तिमा प्रतिफल (ROA), पुँजीमा प्रतिफल (ROE), नाफा, पूँजीकोष अनुपात, निष्क्रिय कर्जा, तरलता, जोखिम व्यवस्थापन, नियामकीय पालना तथा ग्राहक सन्तुष्टिलगायत सूचकहरूलाई आधार बनाउनुपर्ने व्यवस्था गरिएको छ।
मार्गदर्शनले सीईओलाई प्रदान गर्न सकिने अन्य सुविधाको दायरा पनि स्पष्ट गरेको छ। मोबाइल, ल्यापटप, सवारी साधन, इन्धन तथा चालक सुविधा, कर्मचारी शेयर योजनाअन्तर्गत प्राप्त गर्न सकिने शेयर तथा निश्चित सीमाभित्रका अन्य व्यावसायिक खर्च मात्र उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सीईओ पारिश्रमिक सम्बन्धी नीति, निर्धारणका आधार तथा अन्य कर्मचारीसँगको पारिश्रमिक अन्तरसम्बन्धी विवरण राष्ट्र बैंकमा पेश गर्नुपर्ने तथा वार्षिक प्रतिवेदनमा समेत खुलासा गर्नुपर्ने व्यवस्था गरेको छ।
पुरा पढ्न तलको लिन्कमा क्लिक गर्नुहोस ।
https://www.nrb.org.np/contents/uploads/2026/06/CEO-salary-guideline.pdf
प्रतिक्रिया 0