काठमाडौं । विश्वकप फुटबल सुरु भएसँगै साइबर ठगीका घटना पनि बढ्न थालेका छन्। साइबर ब्युरोका अनुसार विश्वकप सुरु भएदेखि हालसम्म ११५ जनाले अनधिकृत लिंकमा क्लिक गरेपछि आफ्नो बैंक खाता वा डिजिटल वालेटबाट रकम हराएको भन्दै उजुरी दिएका छन्। उजुरी नदिने तर ठगिएका त कति छन होला !
प्रारम्भिक अनुसन्धानअनुसार ठगी गर्ने समूहले 'Free Live Streaming', 'Watch World Cup Free', 'Free Match Ticket', 'Lucky Draw', 'Exclusive Subscription' जस्ता आकर्षक सन्देशसहित सामाजिक सञ्जाल, इमेल, एसएमएस तथा म्यासेजिङ एपमार्फत नक्कली लिंक पठाउने गरेका छन्। ती लिंकमा क्लिक गरी व्यक्तिगत विवरण, बैंकिङ जानकारी, OTP वा कार्ड विवरण प्रविष्ट गरेपछि पीडितको खाताबाट रकम चोरी हुने गरेको साइबर ब्युरोले जनाएको छ।
साइबर विज्ञहरूले विश्वकपजस्ता ठूला अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको समयमा साइबर अपराधीहरू बढी सक्रिय हुने भएकाले अपरिचित लिंकमा क्लिक नगर्न, बैंकिङ पासवर्ड, कार्ड नम्बर, CVV, PIN वा OTP कसैसँग पनि साझा नगर्न तथा आधिकारिक वेबसाइट वा एपमार्फत मात्र खेल हेर्न आग्रह गरेका छन्।
बैंक तथा डिजिटल भुक्तानी सेवा प्रदायकहरूले पनि ग्राहकलाई सतर्क रहन अनुरोध गर्दै कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त बैंक, डिजिटल वालेट सेवा प्रदायक वा साइबर ब्युरोलाई जानकारी गराउन आग्रह गरेका छन्। साथै, मोबाइल वा कम्प्युटरमा सुरक्षा अद्यावधिक (Security Update) राख्न र दुई तहको प्रमाणीकरण (Two-Factor Authentication) प्रयोग गर्न पनि सुझाव दिइएको छ।
साइबर ब्युरोले विश्वकपका नाममा आउने फेक लिंक, नक्कली अफर र अविश्वसनीय वेबसाइटबाट विशेष सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ। बैंकिङ तथा डिजिटल भुक्तानी प्रयोगकर्ताले सानो लापरबाहीले पनि ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्ने भएकाले डिजिटल सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने विज्ञहरूको सुझाव छ।
साइबर सुरक्षा विज्ञहरूका अनुसार विश्वकपजस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताको समयमा साइबर अपराधीहरू बढी सक्रिय हुने भएकाले केवल सर्वसाधारणको सतर्कता मात्र पर्याप्त हुँदैन। साइबर ब्युरो, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, डिजिटल वालेट सेवा प्रदायक, दूरसञ्चार कम्पनी र सामाजिक सञ्जाल प्लेटफर्मबीच प्रभावकारी समन्वय, रियल-टाइम निगरानी तथा जनचेतना अभियानलाई थप सशक्त बनाउन सके यस्ता साइबर ठगीका घटनामा उल्लेख्य कमी ल्याउन सकिने उनीहरूको भनाइ छ।
प्रतिक्रिया 0