नेपाली क्यूआर भुक्तानी अब श्रीलंकामा पनि

Wednesday, 13 May 2026, 10:02 PM
21 पटक हेरियो
Font Size: 20px

काठमाडौं । नेपालको डिजिटल भुक्तानी प्रणालीले अन्तर्राष्ट्रिय विस्तारतर्फ अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। भारतसँग सफल क्रसबोर्डर क्यूआर पेमेन्ट सेवा सञ्चालनपछि अब नेपाली प्रयोगकर्ताले श्रीलंकामा पनि क्यूआर स्क्यान गरी सहजै भुक्तानी गर्न सक्ने भएका छन्।

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र LankaPay बीचको सहकार्यमा यो सेवा औपचारिक रूपमा सुरु गरिएको हो। काठमाडौँ र कोलम्बोबीच आयोजित भर्चुअल कार्यक्रममार्फत सार्वजनिक गरिएको उक्त सेवाले दक्षिण एसियाली क्षेत्रमा डिजिटल वित्तीय एकीकरणलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।

यो प्रणाली लागू भएसँगै नेपाली पर्यटक, तीर्थयात्री तथा व्यवसायीहरूले श्रीलंकामा नगद वा डलर बोकेर हिँड्नुपर्ने झन्झटबाट राहत पाउनेछन्। नेपाली प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ एप वा ConnectIPS मार्फत श्रीलंकाका ४ लाखभन्दा बढी LankaPay QR मर्चेन्टमा सिधै भुक्तानी गर्न सक्नेछन्।

हालका लागि यो सुविधा Laxmi Sunrise Bank का ग्राहकहरूले उपयोग गर्न पाउनेछन् भने आगामी दिनमा अन्य बैंक तथा वित्तीय संस्थाहरू पनि यसमा आबद्ध हुने तयारीमा छन्।

विश्लेषकहरूका अनुसार यो पहलले डिजिटल भुक्तानीको सहजता बढाउनुका साथै नेपालको बैंकिङ प्रविधिको क्षमता र विश्वसनीयतालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न मद्दत गर्नेछ। साथै, औपचारिक डिजिटल कारोबार बढ्दा अनौपचारिक माध्यमबाट हुने मुद्रा अपचलन नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसअघि भारतीय पर्यटकहरूले नेपालका १७ लाखभन्दा बढी Fonepay मर्चेन्टमा UPI मार्फत भुक्तानी गर्दै आएका छन् भने भुटानसँग पनि क्यूआर भुक्तानी सहकार्यको समझदारी भइसकेको छ। त्यस्तै Alipay Gateway प्रयोग गरेर चीन, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, फिलिपिन्स, थाइल्यान्ड लगायत केही युरोपेली देशका पर्यटकले नेपालमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने व्यवस्था समेत रहेको छ।

डिजिटल भुक्तानीको बढ्दो विस्तारसँगै नेपाली बैंकहरू तथा नेपालको फिनटेक क्षेत्रले अन्तर्राष्ट्रिय पहिचान थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

19 घण्टा अगाडि
21 पटक हेरियो

प्रतिक्रिया 0