काठमाडौं । नबिल बैंकका सिईओ मनोज ज्ञवाली ले बैंकिङ प्रणालीमा पर्याप्त तरलता र न्यून ब्याजदर हुँदाहुँदै पनि कर्जा माग तथा आर्थिक गतिविधिमा अपेक्षित सुधार आउन नसकेको बताएका छन्। चौथो नेशनल बैंकिङ डिस्कोर्स २०२६ मा बोल्दै उनले बैंकहरू ऋण प्रवाह गर्न तयार रहेको तर निजी क्षेत्रको मनोबल कमजोर हुँदा लगानी विस्तार हुन नसकेको बताए।
ज्ञवालीका अनुसार अहिले बैंकिङ क्षेत्रमा लगानीयोग्य रकमको अभाव छैन। व्यवसायी तथा उद्यमीलाई आवश्यक वित्तीय सेवा र कर्जा उपलब्ध गराउन बैंकहरू सक्षम रहे पनि बजारमा उपभोग कमजोर, लगानीकर्तामा अन्योल र निजी क्षेत्रको आत्मविश्वास खस्किँदा आर्थिक गतिविधि सुस्त बनेको छ।
उनले सरकारले निजी क्षेत्रलाई सकारात्मक सन्देश दिने, लगानीमैत्री वातावरण बनाउने तथा व्यवसायीहरूको मनोबल बढाउने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए। साथै, विदेश गएका नेपालीहरू स्वदेश फर्किन इच्छुक रहेको उल्लेख गर्दै उनीहरूलाई उद्यम र लगानीका अवसर सिर्जना गर्न राज्यले पहल गर्नुपर्ने बताए ।
ज्ञवालीले वित्तीय अपराध र व्यावसायिक असफलतालाई एउटै दृष्टिकोणले हेर्न नहुने उल्लेख गर्दै आर्थिक गतिविधिलाई पुनः गति दिन सरकार, निजी क्षेत्र र बैंकिङ क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राखे।
प्रतिक्रिया 0