कोलम्बो लिटरेरी फेस्टिभलमा विनोद चौधरीको उद्यमशीलता यात्रा

शुक्रबार, २ आश्विन २०८३, राति १२:१६


काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं उद्यमी विनोद चौधरीले आफ्नो उद्यमशीलता यात्राका चुनौती, असफलता र त्यसबाट प्राप्त सिकाइबारे अनुभव साझा गरेका छन्। श्रीलंकामा आयोजित कोलम्बो लिटरेरी फेस्टिभल अन्तर्गत ‘From Riots to Resilience: A Billionaire’s Journey’ शीर्षकको संवादमा उनले आफ्नो यात्राका विभिन्न पक्षबारे चर्चा गरेका हुन्।

सावित्री रोड्रिगोले सञ्चालन गरेको संवादमा चौधरीले जीवन र व्यवसायमा आउने हरेक चुनौतीले कुनै न कुनै पाठ सिकाउने तथा हरेक अवरोधले नयाँ अवसर सिर्जना गर्ने धारणा व्यक्त गरे। उनले कठिन परिस्थितिसँग जुध्ने क्षमता अर्थात् ‘Resilience’ लाई आफ्नो यात्राको महत्वपूर्ण शक्ति भएको बताए। उनका अनुसार फरक–फरक पृष्ठभूमि र यात्रा भए पनि साहस, निरन्तर प्रयास र आशाले मानिसलाई अघि बढाउने साझा मूल्यको काम गर्छन्।

चौधरीले कार्यक्रममा सहभागी दर्शक तथा श्रोतासँग प्रत्यक्ष संवाद गर्न पाउनु आफ्ना लागि विशेष अनुभव भएको उल्लेख गरे। सहभागीका प्रश्न, विचार र अनुभवले आफूलाई थप प्रेरित गरेको बताउँदै उनले विचार तथा अनुभव आदानप्रदानका लागि यस्तो मञ्च निर्माण गर्ने आयोजकप्रति धन्यवाद व्यक्त गरेका छन्। कार्यक्रममा क्षेत्रका विभिन्न आवाज र अनुभवलाई एउटै मञ्चमा ल्याउँदै विचारमार्फत परिवर्तनका सम्भावना खोजिएको उनको भनाइ थियो।

चौधरीले उक्त कार्यक्रममा सहभागी भएको विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आफ्नो उद्यमशीलता यात्रामा साहस, दृढता र आशा महत्वपूर्ण रहेको सन्देश दिएका छन्। कार्यक्रममा उनको सहभागिताले नेपाली उद्यमशीलताको अनुभवलाई अन्तर्राष्ट्रिय साहित्यिक तथा संवादको मञ्चमा प्रस्तुत गर्ने अवसरसमेत प्रदान गरेको छ।

बिनोद चौधरीको ब्यापार साम्राज्य

विनोद चौधरीको नेतृत्वमा रहेको चौधरी समूह नेपालबाट सुरु भएर विश्वका विभिन्न मुलुकमा विस्तार भएको बहुआयामिक व्यावसायिक समूहका रूपमा स्थापित छ। समूहले खाद्य तथा पेय पदार्थ, होटल तथा पर्यटन, बैंकिङ तथा वित्तीय सेवा, सिमेन्ट, ऊर्जा, शिक्षा, रियल इस्टेट, इलेक्ट्रोनिक्स, सञ्चार तथा पूर्वाधारलगायत विभिन्न क्षेत्रमा लगानी विस्तार गरेको छ। चौधरी समूहका अनुसार यसको व्यवसाय ३२ भन्दा बढी देशमा फैलिएको छ भने समूहअन्तर्गत २०२ भन्दा बढी कम्पनी र २६१ ब्रान्ड रहेका छन् र २० हजारभन्दा बढी कर्मचारी कार्यरत छन्।

विश्व बजारमा चौधरी समूहको प्रमुख पहिचान वाइवाई चाउचाउ बनेको छ। नेपालमा उत्पादन सुरु भएको वाइवाई अहिले पाँच महादेशका ३५ भन्दा बढी देशमा पुगेको समूहले जनाएको छ। खाद्य व्यवसायसँगै चौधरी समूहले होटल तथा आतिथ्य क्षेत्रमा पनि विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डसँग साझेदारी गर्दै आफ्नो उपस्थिति विस्तार गरेको छ। बैंकिङ तथा वित्तीय क्षेत्रमा नबिल बैंक समूहको महत्वपूर्ण व्यावसायिक आधारमध्ये एक हो। यसरी खाद्य उद्योगदेखि आतिथ्य, वित्त, उत्पादन, ऊर्जा र अन्य क्षेत्रमा गरिएको लगानीले विनोद चौधरीको व्यवसायलाई नेपाली सीमाभन्दा बाहिरसम्म विस्तार गरेको छ।

प्रतिक्रिया 0